भारतीय केराले कब्जा गर्यो नेपाली बजार, आयात नरोकिए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

२०७९ भाद्र २३ गते प्रकाशित

काठमाडौँ । भारतीय केराको आयात नरोकिएमा आन्दोलन गर्ने किसान व्यवसायीले चेतावनी दिएका छन्। चितवन केरा उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गर्दै भारतबाट खुल्लमखुला केरा आयात हुँदा स्वदेशी केराले बजार नपाएको किसानको गुनासो थियो । चितवनका केरा उत्पादक किसानले भारतीय केरा आयातले स्वदेशी केराको बजार कब्जा गरेको गुनासो गरे ।

संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भने, ‘चाडपर्वका बेला हुने मागलाई धान्ने केरा हाम्रै देशमा उत्पादन भएको छ । त्यसैले बाहिरबाट केरा आयात गर्न आवश्यक छैन ।’ साउन सकिए लगत्तै धमाधम भारतीय केरा आउन सुरु भएका कारण नेपाली किसानहरु मर्कामा परेको संघका महासचिव जनकराज पन्तले बताए । साउनसम्म भारतीय केराको आयात कम भएका कारण नेपाली केराको खपत राम्रै रहेको पन्तले बताए । केरा आयात गर्न पनि एलसी अनिवार्य गरेपछि अग्रिम पैसा जम्मा गर्नु पर्ने भएका कारण आयात कम भएको थियो ।

तर एलसी खोले नखोलेको बारेमा नियमनमा कडाइ नभएकाले पनि भारतीय केराको आयात बढेको पन्तले सुनाए । यसको असर नेपाली केराको मूल्यमा परेको छ । नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार जेठमा मालभोग केरा दर्जनको ९० रुपैयाँ र हरियो केरा ‘जी नाइन’ दर्जनको ६० रुपैयाँमा बारीबाटै बिक्री भएको थियो । अहिले हरियो केरा दर्जनको ३० रुपैयाँमा झरेको पन्तले जानकारी दिए ।

‘आउँदो दुई महिनासम्म मुख्य सिजन हो । यो सिजनलाई देशभर तीन लाख ५० हजार मेट्रिक टन केरा आवश्यक पर्दछ । त्यति केरा हामी उत्पादन गर्न सक्दछौं । त्यसैले केरा आयात गर्नु पर्ने अवस्था छैन’ महासंघका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले भने । अहिले भारतबाट काठमाडौंमा मात्रै दैनिक ८ देखि १० गाडी केरा आउन थालेको उनले बताए । जसले गर्दा व्यवसायीले स्वदेशी केरा खरिद घटाएका छन् ।