दसैंका लागि काठमाडौं उपत्यकामा भित्रिँदैछन ४३ हजार खसीबोका र भेडाच्याङ्ग्रा

२०७९ भाद्र २३ गते प्रकाशित

काठमाडौं । यसपालीको दसैंका लागि काठमाडौं उपत्यकामा झन्डै ४३ हजार खसीबोका र भेडाच्याङ्ग्रा भित्रिने भएका छन् । नेपालीको महान चाड भएकाले पनि मासु खानका लागि सो परिमाणमा पशु चौंपाया उपत्यकामा भित्रिँदैछन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार गोटा खसीबोका र भेडाच्याङ्ग्रा खरिद गर्दैछ भने निजीक्षेत्रबाट व्यापारीहरुले पनि खसीबोका बिक्रि गर्दैछन् ।

दसैंका लागि अहिले व्यापारीहरुले विभिन्न जिल्लामा पुगेका छन् । काठमाडौं उपत्यकामा खसीबोका बिक्रि गर्ने उद्धेश्यले व्यापारी अहिले बाहिरी जिल्लामा धमाधम खसीबोका खरिद गर्न पुगेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि दसैंका बेला मासुका लागि खसीबोका तथा भेडाच्याङ्ग्राको माग अधिक हुने गर्छ ।

यसपालीको दसैंका लागि काठमाडौं उपत्यकामा ३५ हजार हाराहारी खसीबोका भित्र्याइने तयारी रहेको चौंपाया खरिद बिक्रि संघका अध्यक्ष दिपक थापाले कृषिपानालाई जानकारी दिए । उनका अनुसार, यस वर्षको दसैंमा पनि गत वर्षकै हाराहारीमा खसीबोका उपत्यका भित्रिनेछन् ।

‘यसपाली पनि गत वर्षकै हाराहारीमा खसीबोका काठमाडौं उपत्यका भित्रिने आंकलन छ । त्यो भनेको ३५ हजार गोटा खसीबोका यसपाली पनि बिक्रि हुने देखिन्छ’ उनले बताए । त्यस्तै, दसैंका लागि नै झन्डै ५ हजार गोटा हाराहारी भेडाच्याङ्ग्रा भित्रिने आकंलन गरिएको छ । ‘अबको केही दिनमा व्यापारीहरु भेडा च्याङ्ग्रा ल्याउन मुस्ताङ जाँदै हुनुहुन्छ । यसपाली पनि त्यही ५ हजार हाराहारीमा भेडा च्याङ्ग्रा काठमाडौंमा भित्रिन्छ होला ।’ उनले बताए ।

अहिले व्यापारीहरु स्वदेशकै खसीबोका ल्याउन लागि परेको उनले बताए । भन्सार चेक, स्वास्थ्य प्रमाणपत्र बनाउनुपर्ने झन्झट, विभिन्न प्रकृयागत लफडाका कारण खसीबोकाको लागत मूल्य बढ्न जाने हुँदा व्यापारीले पहिलो प्राथमिकता स्वदेशी खसीबोका खरिदमै केन्द्रीत भएको उनले जानकारी दिए ।

यदि, स्वदेशी खसीबोका अपुग भयो भने मात्र ‘इन्डिय’ खसीबोका पनि भित्रिन सक्ने उनको भनाई छ । पछिल्लो समय उपभोक्तामा मासु खाने ‘कल्चर’ ह्वात्तै बढेको उनको तर्क छ । जसका कारण, दसैंमा खसीबोका अभाव हुन सक्ने अवस्था पनि आउन सक्ने उनको भनाई छ ।

व्यापारीहरु खसीबोका खरिदका लागि अहिले कैलाली, बैतडी, सल्यान, डोटी, इलाम, जाजरकोट, ओखलढुंगा, नुवकोट, धादिङलगायतका जिल्लामा पुगेका छन् । त्यहाँबाट खसीबोका खरिद गरेर काठमाडौंमा ल्याएर बिक्रि गर्ने व्यापारीको योजना छ ।

यसपालीको दसैंमा काठमाडौं उपत्यकामा भित्रिने नाका नागढुंगामा पशु चौपाँयाको स्वास्थ्य परिक्षण गरेर ल्याइने भएको छ । त्यसका लागिहोल्डिङ बोर्ड राखेर स्वस्थ्य पशु चौपायाँ मात्र भित्र्याउने संघको तयारी छ ।