फिलिमको ‘नायक’ शैलीमा नै काम गरेको छु–कृषिमन्त्री यादव

२०७९ भाद्र २३ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले आफुले फिलिमको नायक जसरी नै छिटोछिटो सकेसम्म कामहरु गरिरहेको बताएका छन् । राष्ट्रिय कृषक समुह महासंघ, नेपालको १२ औं स्थापना दिवशका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘फिलिमको ‘नायक’ को कुरा भयो, त्यसमा पनि मैले सकेसम्म छिटोछिटो धेरै नीतिहरु, धेरै विधेयकहरु अघि बढाएको छु’ उनले भने, ‘२०७६ सालदेखिको पशु स्वास्थ्य विधेयक के कारणले हो? अड्केको अड्कै थियो । त्यसलाई मै आएपछि प्रतिनिधि सभाबाट पास गराएर राष्ट्रिय सभामा पठाइएको छ ।’

काम गर्न र परिवर्तनका लागि एक्लैले चाहेर नहुने भन्दै राजनीतिमा पनि सुधार आउनुपर्ने उनले बताए । मन्त्रालयले किसानलाई परेको अप्ठ्यारो र समस्यामा सधैं हातेमालो गर्दै समाधानका लागि पहल गर्ने बताए ।

राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेलले कृषि मन्त्रालयमा छिटोछिटो मन्त्री परिवर्तन हुँदा काम नभएको र चाहेको खण्डमा एक मन्त्रीले नै २४ घण्टामा फिलिमको ‘नायक’ को रुपमा परिवर्तन गर्न सक्ने प्रसङ्ग उठाएकी थिइन् । उक्त प्रसंगमा मन्त्री यादवले आफुले पनि सकेसम्म नीतिगत रुपमा कृषिक्षेत्रको सुधारका लागि पहल गरिरहेको उनको भनाई थियो ।

यसैबीच राष्ट्रिय कृषक समुह महासंघले आफ्नो १२ स्थापना दिवश मनाएको छ । ‘स्वशासित, आत्मनिर्भर, श्रोत साधन महासंघ र समृद्ध किसान’ भन्ने मूल नाराका साथ वि.सं २०६८ भदौ २३ गते महासंघको स्थापना भएको थियो ।

कृषक सशक्तिकरणद्वारा किसान अधिकारको स्थापना भन्ने मुख्य लक्ष्य लिएको महासंघले कृषक सशक्तिकरण एवं महिला तथा सीमान्तकृत कृषकको समावेशी सहभागितालाई सुनिश्चितता गर्दै दीगो कृषिको माध्यमद्वारा कृषक समुदायलाई सम्वृद्ध बनाउने अभियानमा अघि बढिरहेको छ।

आगामी दिनमा केन्द्रदेखि जिल्ला हुँदै पालिका र वडासम्म महासंघको संगठन विस्तार गर्ने, किसानको हकहितका सवाल सम्बन्धित क्षेत्र एवं निकाय समक्ष पुर्याउने, नेपाल सरकारद्वारा तयार गरिएका कृषिका नीति, नियम कृषकलाई जानकारी गराउने र कार्यन्वयनमा सहयोग पुर्याउने, नीति निर्माण, परिवर्तन र कार्यान्वयनको लागि अध्ययन, पैरवी, दबाबमूलक कार्यक्रम संचालन गर्ने ।

कृषकका सवालहरू पहिचान गरी सम्बन्धित निकायमा पैरवी गर्ने र कृषि क्षेत्रखमा लगानी गर्ने स्थानीय निकायहरुको बजेट प्रभावकारी रुपमा कृषि क्षेत्रमा संचालन गर्न गराउन, किसानको पहुँच बढाउने दिशामा अघि बढ्ने महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन् ।

उनले कृषि पेशालाई व्यवसायिक एवं मर्यादित गराउँदै युवा शक्तिलाई कृषि रोगगारमा समाहित गर्ने, किसानका उत्पादनलाई राज्यको सरोकारको रुपमा स्थापित गराउने, कृषि र विकासका सवालमा कार्यरत सरोकारवाला निकायहरू बिच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संजाल निर्माण गर्ने, कृषि र विकासका सरोकारका विषयहरुको अध्ययन र अनुसन्धान गर्ने, स्वेदशी तथा विदेशी संघ संस्थाहरुसँग अनुभव तथा निकाई आदान–प्रदान गर्ने र कृषि, कृषक, भूमि र खाद्य अधिकारका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य गर्ने आगामी योजना रहेको बस्नेतले जानकारी दिए ।