काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतले आन्तरिक माग र आपूर्ति सन्तुलन गर्न भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो।
बासमती बाहेकको चामल निर्यातमा २० प्रतिशत निर्यात महसुल लगाउने भारतको राजस्व विभागले सूचना जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छ ।
संसारभर खाद्यान्न आपूर्तिमा समस्या आएको र भारतमा धानको खेती घटेका कारणले भारतले निर्यातमा कडाइ गर्न खोजेको हो। यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ।
भारत संसारकै दोस्रो धान उत्पादक देश हो। धान/चामलको विश्वव्यापी चामलमा भारतले ४० प्रतिशत हिस्सा ओगट्दै आएको छ। वर्ष सन् २०२१/२२ मा मात्र भारतले कूल २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो। बासमती बाहेककै चामल मात्र भारतले ६.११ अर्ब डलरको निर्यात गरेको थियो।