बागलुङ । कालीगण्डकी करिडोरअन्र्तगत पर्ने जैदी र छिस्तीको सीमा चौंरीखोलामा रहेको बेलिबृज पुल नहुँदा त्यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । पक्की मोटरेबल पुल निर्माण गर्ने र बाढीले बगाउन सक्ने भन्दै बेलिबृज झिकिएपछि त्यहाँका स्थानीयलाई आवतजावतमा सास्ती भएको हो ।
विगत चार महिनादेखि जैदी र छिस्ती आसपासका स्थानीयलाई सास्ती त छँदै छ । त्यसमा पनि बेलिबृज नहुँदा करिडोर हुँदै भएर गुड्ने सवारी साधन पनि ठप्प छन् । बेलिबृज नहुँदा त्यहाँका स्थानीय खोलामै हेलिएर भए पनि जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।
ठूलो पानी पर्दा खोला बढ्ने र दुर्घटनाको जोखिम अझै बढ्ने गरेको छ । बेलिबृज झिकेर पक्की ढलाने पुल बनाउने भनिए पनि अहिलेसम्म निर्माण सुरु भएको छैन् । बेलिबृज नहुँदा बागलुङदेखि बेलबगर, छिस्ती, पुर्तिघाट र बुटवलसम्म ओहोरदोहारमा समेत अप्ठ्यारो परेको बेलबगरका स्थानीय गोविन्द पौडेलले बताए ।
उनले ४ महिनादेखि बेलिबृज नभएर स्थानीय सास्ती खेप्नुपरेको र बुटवलसम्मको यातायात पनि रोकिएको बताए । उनले दसैं नजिकिएसँगै गाउँ फर्कने यात्रु र स्थानीयलाई पनि यातायातमा अप्ठ्यारो परेको बताए ।
बेलिबृज नहुँदा परेको यो समस्याप्रति स्थानीय सरकार समेत बेखबर बनेको छ । दसैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गए पनि नगरपालिकाले उक्त बेलिबृज छिटोभन्दा छिटो निर्माण गरेर स्थानीयलाई सुविधाको आवास दिलाउने सक्ने देखिन्न । बेलिबृज पुल पुनः सञ्चालनका लागि पहल भइरहेको नगरप्रमुख नरबहादुर पुनःले बताए पनि कहिलेसम्म सञ्चालनमा आउँछ त्यो भन्न सकेनन् ।