जीटुजीमार्फत मल ल्याउने प्रक्रिया सुरु, पीईओ पठाइयो

२०७९ आश्विन ८ गते प्रकाशित

काठमाडौं । भारतबाट सरकार–सरकारबीच(जीटुजी)मार्फत सम्झौता गरी रासायनिक मल खरिद प्रक्रिया अघि बढेको छ । सरकारले जीटुजीमार्फत मल खरिद गर्नका लागि बजेटको सुनिश्चितता गरेसँगै प्रक्रिया अघि बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, जीटुजी विधिबमोजिम मल खरिद गर्न भारत सरकारलाई खरिद आदेश(पीईओ) पठाइसकिएको हो ।

पीईओ पठाइसकेपछि भारतीय पक्षले मलको टेण्डर र खरिद मूल्यसम्वन्धि विवरण पठाउने छ । सो आधारमा नेपालले कुन मूल्य दरमा मल खरिद गर्ने टुंग्याएर पठाउने तयारी गरेको छ । यो सँगै जीटुजीमार्फत मल खरिदको औपचारिक प्रक्रिया अघि बढेको कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालकसहितको नेपाली टोली करिब १२ दिनसम्म लगातार भारतीय पक्षसँगको छलफल र संयुक्त बैठकबाट जीटुजीमार्फत मल दिन सहमति जुटेको थियो । भारतीय राष्ट्रिय केमिकल एण्ड फर्टिलाइजर लिमिटेड र नेपालको कृषि सामग्री कम्पनीबीच जीटुजी सम्झौता भएको हो ।

जसबमोजिम, हरेक वर्ष आगामी पाँच वर्षसम्म गरी कुल ९ लाख ३५ मेट्रिक टन मलका लागि जीटुजी सम्झौता भएको थियो । पहिलो वर्ष अर्थात चालू आर्थिक वर्ष २०७९र०८० मा डेढ लाख, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो वर्ष २ लाख १० हजार र पाँचौ वर्ष २ लाख १० मेट्रिक टन मल जीटुजीमार्फत आउनेछ ।