प्रदेश सभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित

२०७९ आश्विन २६ गते प्रकाशित

काठमाडौं । हिमाली जिल्ला मनाङबाट दिपक मनाङे भनेर चिनिने राजीव गुरुङ प्रदेश सभामा निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि मनाङे र दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

तर उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उनको उम्मेदवारी फिर्ताभएसँगै मनाङे निर्विरोध रुपमा निर्वाचित भएका हुन् । कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी नै दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले समेत उम्मेदवारी दिएनन् ।

अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए । मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि उनले चुनाव जितेका थिए ।