बेमौसमी वर्षाका कारण क्षति ब्यहोरेका किसानलाई राहत दिन अनेकिमको सरकारलाई आग्रह

२०७९ आश्विन २७ गते प्रकाशित

काठमाडौं । अखिल नेपाल किसान महासंघले देशभर बेमौसमी वर्षाका कारण क्षति ब्यहोरेका किसानलाई तत्काल राहत दिन आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको र त्यस्ता किसानलाई उद्धार र राहत दिन सरकारसँग आग्रह गरेको हो ।

बेमौसमी वर्षाका कारण किसानलाई पर्न गएको क्षतिप्रति दुःख व्यक्त गर्दै महासंघले क्षतिको वास्तविक विवरण संकलन गरी राहत उपलव्ध गराउन माग गरेको हो । त्यस्तै, महासंघले एक वर्षअघि नक्कली डीवाई २८ जातको धानको बीऊबाट क्षति ब्यहोरेका किसानले अहिलेसम्म पनि क्षतिपूर्ति नपाएको भन्दै तत्काल क्षतिपूर्ति उपलव्ध गराउन सम्वन्धित निकायलाई आग्रह समेत गरेको छ ।

गत वर्ष काठमाडौं उपत्यकाका जिल्लामा लगाइएको उक्त धानको बीऊमा बाला नलागेर किसानले क्षति ब्यहोरेका थिए । तर, बीऊ आपूर्तिकर्ता कम्पनीले अहिलेसम्म पनि किसानलाई क्षतिपूर्ति उपलव्ध नगराएको पीडित किसानको गुनासो छ ।

महासंघले किसानप्रति सरकारको यसप्रकारको गैरजिम्मेवारीपना नदोहोरियोस् भनी सरकारसमक्ष आग्रह गरेको छ ।