४२ औं विश्व खाद्य दिवशः विभिन्न कार्यक्रमसहित मनाइँदै

२०७९ आश्विन २८ गते प्रकाशित

काठमाडौं । ४२ औं खाद्य दिवश शुक्रबार देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने मूल नाराका साथ यो दिवश देशभर विभिनन कार्यक्रम गरि मनाइँदैछ । दिवशका अवसरमा शुक्रबार ७ बजेदेखि ८ बजेसम्म प्रभातफेरी कार्यक्रम र ९ बजेदेखि ११ बजेसम्म कृषि विभागको सभाहलमा पुरस्कार वितरण र प्रवचन कार्यक्रम रहेको छ ।

कृषि विभागको सभाहलमा हुने कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहको प्रमुख आतिथ्यता रहनेछ । विश्व खाद्य दिवश नेपालमा महत्वपूर्ण दिवशका रुपमा मनाइँदै आएको छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौँ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ । अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बौ रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औँ शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै काराण संसारका धेरै जसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ ।