कृषियोग्य जमिन कसरी जोगाउने भनेर सोच्नुपर्ने बेला आएको छः गुरुङ

२०७९ आश्विन २८ गते प्रकाशित

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले कृषियोग्य जमिनलाई कसरी जोगाउने भनेर सोच्नुपर्ने बेला आएको बताएका छन् । भू–उपयोग ऐनअनुसार जमिनको वर्गीकरणको जिम्मा स्थानिय तहलाइ दिएको भन्दै उनले कृषियोग्य जमिनको समुचित वर्गीकरण छिट्टै हुनुपर्ने बताए ।

४२ औं विश्व खाद्य दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खाद्य शुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक अधिकार सुनिश्चित गर्न उत्पादन र उत्पादकत्व वृद्धिमा सबै निकायले चासो दिनुपर्ने उनले बताए ।

सो अवसरमा राष्ट्रिय किसान आयगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले कृषि उत्पादन बढाउन राज्यले अघि बढाएका योजना पर्याप्त नभएको बताए। नीतिगत कमीकमजोरी सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो। सरकारले किसानको उत्पादन खरिद गर्नुपर्ने र उत्पादनमा आधारित अनुदान दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने उनले बताए।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका(कृषितर्फ)सचिव गोविन्दप्रसाद शर्माले कृषियोग्य जमिनको समुचित वर्गीकरण नभए अझै पनि खेतीयोग्य जग्गा दोहन हुने बताए । कृषि जग्गाको वर्गीकरण गर्न छुट्टै कार्यदल बनाइने उनले बताए । संघ, प्रदेश र स्थानीय तहसँग राष्ट्रिय कार्यक्रममा राम्रो समन्वय हुन नसकेको बताउँदै उनले आयात बढ्नुमा जग्गा, सिँचाइ, मल, बीउको उपलव्धतामा कमी देखिएको उनले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका(पशुतर्फ) सचिव दीपक खरालले आजको दिनले खाद्य उत्पादन देखि उपभोगसम्मलाइ सम्झाएको बताए । खाद्य शुरक्षामा किसान वर्गको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले किसान वर्गलाई सम्मान गरिएकोमा खुसी व्यक्त गरे । उनले सम्मानित किसानलाई अझै उत्साहित भएर उत्पादन वृद्धि र अरुका लागि उदाहरणीय बन्न आग्रह गरे ।
कृषि पेसालाई कसरी सम्मानित पेसा बनाउने भनेर सोच्नुपर्छ बेला आएको उनको भनाई छ। उनले यस आर्थिक वर्षको अन्त्यसम्ममा कृषि ऐन र पशुतर्फका दुइवटा विधेयक पारित हुने बताए ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्दव अधिकारीले नेपालले रैथाने बाली र बीउ आयात गरिरहेको हुँदा यसको असर भविष्यमा गम्भीर रुपमा देखिने बताए । उनले
सरकारले खाद्य दिवशलाई कम प्राथमिकता दिएको बताए।

उक्त समारोहमा विभिन्न विधाबाट ३३ जना कृषकहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृतको तर्फबाट मन्तव्य राख्दै सरस्वती बस्ताकोटीले कृषि प्रधान मुलुकमा किसान कहाँ छन भन्दै प्रश्न गरिन् । उनले अनुदान वास्तविक किसानसम्म नगएको र बिचौलिया वर्गले मात्र लाभ लिएको बताइन् । उचित बजार व्यवस्थापनको अभावमा उत्पादन भएको वस्तुको बिक्रि गर्न गाहे परेको उनको भनाई छ ।

अर्का किसान विश्वबहादुुर अधिकारीले नेपालमा मेहनती किसान सवैभन्दा दुःखी रहेको बताए। खाद्य सुरक्षाका लागि कृषि उत्पादन बढाउनुको विकल्न नभएको भन्दै उनले उत्पादन बढाउन किसानलाई समयमै मल र बीउ उपलव्ध गराउनुपर्ने सरकारको दायित्व रहेको बताए । सो अवसरमा खाद्य दिवशका बारेमा कृषि मन्त्रालयका उप सचिव अरुण जिसीले खाद्य दिवशको महत्व र उद्धेश्यका बारेमा भिडियो प्रस्तुतीकरण गरेका थिए ।

खाद्य दिवश नेपाल समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य सचिव महादेवप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।