कृषिमन्त्री मृगेन्द्रकुमार सिंहको बर्खास्तीः सम्झनलायक काम नगरी बाहिरिए

२०७९ आश्विन २८ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह बर्खास्तीमा परेका छन् । विहीबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ती जारी गर्दै जनता समाजबादी पार्टी(जसपा)बाट चार मन्त्रीलाई बर्खास्ती गरेसँगै कृषिमन्त्री सिंह पनि पदमुक्त भएका हुन् ।
तीन महिना ८ दिन आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालेका सिंहले कृषि र किसानका हितमा सम्झनलायक काम खासै गर्न सकेनन् । उनी गत २०७९ असार २० गते मन्त्रालयको जिम्मेवारीमा आएका थिए ।

जतिबेला किसानले मुख्य बाली धान रोपाइँ गर्न सुरु गरेका थिए । देशभर किसानले रासायनिक मलको अभाव खेप्नुपरेको थियो । त्यसबखत मन्त्री बनेका सिंहले पद्भार ग्रहण सँगै किसानलाई रासायनिक मल र बीऊ समयमै उपलव्ध गराउने प्रतिवद्धता नगरेका भने होइन् । तर, र्दुभाग्य किसानले यस वर्ष पनि मल नहाली धानको बीऊ छरे, धान रोँपे । धान गोड्ने बेला भइसक्यो । अहिलेसम्म पनि मल पाइरहेका छैनन् ।

यतिमात्र होइन, नेपाल–भारत सरकारबीच(जीटुजी) विधिमार्फत रासायनिक मल खरिद सम्झौतामा पनि मन्त्री सिंहले कुनै कुटनीतिक पहल गर्न सकेनन् । फलस्वरुप, जीटुजीको मल अझ आउने नआउने अनिश्चित छ ।

उखु किसानले आफुले बिक्रि गरेको उखुको भुक्तानी नपाएको समस्या उत्तिकै रह्यो । गत वर्ष अबिरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने बिषयमा पनि मन्त्री सिंह चुके ।

किसानलाई क्षतिपूर्ति दिने जिम्मेवारी गृह मन्त्रालयको हो भन्दै उनी पन्छिए । सोझा साझा गरिब किसान मिटर ब्याजी साहु महाजनबाट ठगिएर न्याय खोज्दै काठमाडौं आएर प्रदर्शन गरे पनि कृषिमन्त्री बेखबर बने ।

मन्त्री सिंहले नै पहल नगर्दा किसानले धान रोप्ने बेलामा मल पाउन सकेनन् । फिल्मको ‘नायक’ शैलीमा काम गरेको छु भनेर सार्वजनिक मञ्चबाट भाषण दिने स्वंयम मन्त्री सिंहकै कारण न किसानले समयमा मल पाए, न बीऊ ।

मन्त्री सिंहले लामो समयदेखि बिचारधीन पशु चिकित्सा परिषद् विधेयक संसदमा लगेर पशु प्राविधिक र भेटेनरीबीच विवाद सिर्जना गराउने काम गरे । यद्यपी, अहिले उक्त विधेयक पारित भइसकेको छ । यसरी समग्र हेर्दा, कृषिमन्त्री सिंहले पदबहाली हुँदा जुन किसिमको आश्वासन किसानलाई दिएका थिए, त्यो काम पूरा गर्न सकेनन् ।