चितवन, १ कात्तिक । सरकारले उपलब्ध गराएको सहुलियत कर्जाको ८० प्रतिशत ऋण गएको पोल्ट्री व्यवसाय यतिखेर धरापमा परेको छ । एकातिर सहुलियत कर्जामा कब्जा जमाएका पोल्ट्री क्षेत्रले साना तथा मझौला कुखुरा पालक किसानको हितमा कहिल्यै काम नगर्नाले यतिखेर पोल्ट्री क्षेत्र धरापमा परेको हो ।
झण्डै ७० प्रतिशत कुखुरा पालक किसानहरु वर्षेनी यस पेसाबाट पलायन हुने गरेका छन् । दाना, औषधी, चल्ला लगायतका व्यापारीले कुखुरा पालक किसानको हितमा कहिल्यै काम नगरेको कुखुरा पालक किसानहरुले धेरै वटा फोरममा गुनासो गर्दै आएका छन् । ति व्यापारीले सधै किसानलाई ‘लुटेका’ कारण पोल्ट्री क्षेत्रप्रति आम किसानको आकर्षण घट्दो अवस्थामा पुगेको हो ।
बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।
आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन । अण्डा बजारका यावत समस्या समाधान गर्न ठूला व्यवसायीले समिति नै निर्माण गरेर काम सुरु गरेका हन् । उनीहरूले ३० हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालक फार्म सङ्गठित भएर ‘नेपाल लेयर्स कुखुरापालक सङ्घ’ गठन गरेका हुन् ।
लेयर्स कुखुराका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । कतिपयको बैंकमा ब्याज तिर्न नसक्दा सम्पत्ति लिलामीको चरणमा समेत पुगेको छ । नवगठित सङ्घका अध्यक्ष विनोद पोखरेल अस्थिर बजारका कारण अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी दिए ।
नवलपरासीमा चार लाख लेयर्स कुखुरा पाल्दै आउनुभएका दाउन्ने कर्पोरेशनका कार्यकारी निर्देशकसमेत रहनुभएका उनले समयमै ध्यान दिन नसकेमा नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनुपर्ने अवस्था आउने बताए ।
दैनिक दुई लाख ३१ हजार अण्डा उत्पादन र एक लाख ३० हजार सङ्कलन गरेर बजार पठाउँदै आएको जनाउँदै उनले अहिलेको लागत मूल्यमा अण्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान व्यहोर्नुपरेको बताए । सङ्घले छरिएर रहेका व्यवसायीलाई सङ्गठित गरेर मूल्यमा एकरुपता ल्याउने, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, दानाको मूल्य घटाउन सरकारसँग पहल गर्ने र अण्डाको खपत बढाउने कुरामा लाग्ने उनको भनाइ छ ।
बैंकको चर्को ब्याजदरलाई घटाउनका लागि पहल गर्ने उनी बताउछन् । उनले भने, ‘अब हामीले समयमै पहलकदमी गरेनौँ भने हामी व्यवसायी विस्थापितमात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ ।’ एक प्रतिशत भन्सार मूल्य तिर्दै आएको भटमास पिनाको भन्सार मूल्य नौ प्रतिशत हुँदा लागत मूल्य बढेको उनको भनाइ छ ।
सङ्घका संरक्षक एवं नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट हाल अण्डाको ८० प्रतिशत उत्पादन गर्ने व्यवसायी सङ्घमा रहेको जनाउँदै लागत मूल्य घटाएर उत्पादन बढाइ बजारीकरण गर्न सङ्घ लाग्ने बताए । महासङ्घसँग सहकार्य गरेर खपत बढाउने काममा लाग्नुपर्ने उनको भनाइ छ । व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले बजार धरासायी भएको जनाउँदै उनले सङ्गठित भएर व्यवसाय बचाउनुपर्नेमा जोड दिए ।
सङ्घका महासचिव शोभाकान्त ढकाल करिब–करिब यो व्यवसाय समाप्त हुने अवस्थामा पुगेपछि सङ्गठित भएको बताउछन् । स्याङ्जा जिल्लामा खिलुङ कालिका फार्ममा दुई लाख ५० हजार कुखुरा पाल्दै आउनुभएका ढकालले दैनिक एक लाख ७० हजार अण्डा बजारमा बिक्री गर्दै आएका छन् ।
उनको भनाइमा अहिले अण्डामा लागत मूल्य प्रतिगोटा रु १५ छ भने बिक्री मूल्य रु १० मात्रै छ । एउटै अण्डामा रु पाँचदेखि छसम्म नोक्सान व्यहोर्दा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनको गुनासो छ । दानाको कच्चा पदार्थको मूल्य र बैंकको ब्याज घटाउन नसकेमा व्यवसायी नटिक्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले व्यवसायीको मर्का बुझेको छैन । हामी आफैँ सङ्गठित भएर समस्या समाधानतर्फ लागेका छौँ ।’
बिजु ग्रुपबाट सञ्चालित दुम्किबास पोल्ट्री फार्मका अप्रेशनल म्यानेजर एवं सङ्घका सदस्य सञ्जिव खनाल अण्डाको लागत मूल्यभन्दा अण्डाको बिक्री मूल्य कम भएपछि बजारलाई व्यवस्थित गर्न सङ्गठित हुनुपरेको बताछन् । उनले भने, ‘१५ वर्षअघिको अण्डाको मूल्य अहिले पनि उही छ, लागत मूल्य धेरै बढिसक्यो ।’
७८ प्रतिशत अण्डाको लागत दानामा निर्भर हुने भन्दै उनले यसको मुख्य कच्चा पदार्थ मकै र भटमासको पिनामा लगाइएको भन्सारका कारण दानाको मूल्य आकाशिएको बताए । गएको एक वर्षयता लगाताररूपमा नोक्सान व्यहोरिरहनुपरेको उनको भनाइ छ । हाल चार लाख लेयर्स कुखुराबाट दैनिक दुई लाख १० हजार अण्डा उत्पादन गरिरहेको छ ।
ठूला व्यवसायी सङ्गठित भएर लाग्नुपर्ने अवस्था आएको सङ्घका सचिव मदन पोखरेल बताउछन् । उनले भने, ‘अब व्यवसायी र सरकार सहकार्य गर्न नसके नेपालको पोल्ट्री व्यवसाय समाप्त हुन्छ ।’ नेपालको पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्ब लगानी रहेको छ । यसको झण्डै आधा लेयर्स कुखुरापालनमा रहेको छ । अहिले दैनिक ४५ लाख हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।