गहुँ ‘सिजन’ का लागि रासायनिक मल अभाव नहुने

२०७९ कार्तिक २ गते प्रकाशित

काठमाडौं । गहुँबाली लगाउने सिजनका लागि रासायनिक मलको अभाव नहुने भएको छ । धान भित्र्याउने चटारो सँगै देशभर गहुँ खेती लगाउन थालिसकिएको र त्यसका लागि रासायनिक मल पर्याप्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलअन्र्तगतको कृषि सामग्री कम्पनीका अनुसार, गुहँ सिजनका लागि किसानले मल अभाव नहुने देखिएको हो । हाल कम्पनीसँग ४० हजार टन डीएपी र ३० हजार टन युरिया मौज्दात छ । अर्को, ३० हजार मेट्रिक टन युरिया ग्लोबल टेन्डरमार्फत खरिदको अन्तिम तयारीमा छ । गहुँ सिजनका लागि झन्डै ९० हजार टन मलको माग हुने गर्छ ।

सो बराबरको मल पर्याप्त नै हुने कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘गुहँ सिजन र चुनाव अघि रासायनिक मलको अभाव हुँदैन’ उनले भने, ‘डीएपी मल पर्याप्त र युरिया थप टेन्डरको मल आउँदैछ ।’ मल पाइदैँन भनेर किसानले चिन्ता लिनु नपर्ने अवस्था रहेको कार्कीले बताए । यस वर्ष धान रोपाइँका बेला देशभर किसानले रासायनिक मलको चर्को अभाव खेप्नुपरेको थियो ।

धान गोड्ने बेलामा मलको केही सहज भए पनि पर्याप्त भएन् । देशभर वार्षिक ६ लाख मेट्रिक टन मलको माग रहे पनि त्यसअनुसारको मल कहिल्यै आपूर्ति हुन सकेको छैन् । नेपालले रासायनिक मल भारतबाटै नै आयात गर्नुपर्ने बाध्यता छ । समयमै ठेक्का नलाग्नु, ठेकेदारको लापरबाही, बजेटमा कमी, अन्र्तराष्ट्रिय मूल्य वृद्धिलगायतका कारणले वर्षेनी किसानले रासायनिक मलको अभाव भोग्नुपर्छ ।