काठमाडौं । सरकारले तिहारमा प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको बन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त सूचना पुनः जारी गरी प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण नगर्न आग्रह गरेको हो । अन्यथा, अटेर गरेर त्यस्ता फुल तथा मालाको आयात र बिक्रि गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने मन्त्रालयले सूचनामार्फत जानरकारी दिएको छ ।
तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।
