प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध हट्यो

२०७९ कार्तिक ५ गते प्रकाशित

काठमाडौं । प्याराग्लाइडिङ उडानमा लगाएको अनिश्चितकालको प्रतिबन्ध हटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ।

गत असोज ३० गते पोखरामा, नवौं राष्ट्रिय खेलकुदको क्रकमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको थियो।

घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।

उक्त समितिले शुक्रबार नै छानबिन प्रतिवेदन बुझाएपछि प्राधिकरणले सर्तसहित देशभरका प्याराग्लाइडिङ उडानमा लागेको प्रतिबन्ध खुला गरेको हो।