काठमाडौं । आउँदो छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्रिन सुरु हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठसकिएलगत्तै युरिया र डीएपी मल भित्रिन सुरु हुने जनाएको छ ।
कम्पनीका अनुसार, अहिले डीएपी मल सम्पुर्ण जिल्लामा आउँदो गहुँ सिजनका लागि पुगिसकेको छ । गहुँलगायत रबि बालीका लागि डीएपी मल पूर्ण रुपमा बिक्रि खुल्ला गरिएको कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मलको बिक्रि खुला गरिएकाले डीएपी मल किसानहरुले सम्वन्धित सहकारीमा सम्पर्क राखी लैजान उनले आग्रह समेत गरेका छन। कम्पनीले ६० हजारमध्ये ३० हजार मेट्रिक टन सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत र ३० हजार मेट्रिक टन ग्लोबल ठेक्कामार्फत खरिद गरि भित्र्याउँदैछ । पोटास मल कम्पनीसँग मौज्दात रहेको जनाइएको छ ।
तिहार सकिएलगत्तै किसानले गहुँ तथा रबि बालीका लागि पोटास तथा डीएपी मल लगेर अहिलेका सुरुको ‘टप बेसल डोज’मा प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ । तत्कालीन अवस्थामा टाठापाठाले मात्र मल लैजाने र वास्तविक किसानले मल नै नपाउने गरेको गुनासो आएपछि कम्पनीले तिहारलगत्तै कम्पनीका सबै बिक्रि केन्द्रमा पूर्ण रुपमा बिक्रि खुला गरिएको कार्कीले जानकारी दिए ।
अहिले कम्पनीसँग ६० युरिया र ४१ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको जनाइएको छ ।
जीटुजीको ३० हजार मेट्रिक टन मल भित्रिँदै
यसअघि पाँच वर्षे जीटुजी बिधिमार्फत सम्झौता सम्पन्न भए पछि पहिलो पटक ३० हजार मेट्रिक टन मल नेपाल भित्रिने भएको छ । जीटुजीको उक्त मल अबको १५ दिनभित्र नेपाल भित्रिन सुरु हुने कार्कीले जानकारी दिए ।
अहिले जीटुजीमा भित्रिन लागेको मल ग्लोबल टेण्डरको तुलनामा सस्तो दरमा ल्याइएको कम्पनीले जनाएको छ । ग्लोबल टेण्डरको अहिलेको मूल्यभन्दा १.९४७ प्रतिशत सस्तोमा आएको छ । भित्रिन लागेको ग्लोबल टेण्डरको ३० हजार मेट्रिक टन मल प्रति मे.टन. ६९३ डलर छ । जीटुजीमार्फत मल खरिद गर्दा न्यूनतम सर्भिस चार्ज(१.५ प्रतिशत) मात्र लागेको कम्पनीले जनाएको छ ।