नाका नखुल्दा सतुवाको बजार शून्य

२०७९ कार्तिक १५ गते प्रकाशित

ललितपुर। लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो ।

विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आएका फुङ्लिङ नगरपालिका (१० )का पूर्णहाङ लिम्बू नाका नखुल्दा निराश बनेका छन् ।

सात वर्ष अगाडि प्रतिकिलो रु। २० हजारमा खरिद बिक्री हुने सतुवा नाका नखुल्दा उचित मूल्य पाउन सकेको छैन । तत्कालीन समयमा सतुवा राम्रो मूल्यमा बिक्री हुन थालेपछि लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवाको व्यावसायिक खेती सुरु गरेका थिए । उनले जङ्गलबाट सतुवाको बिउ ल्याएर खेती सुरु गरेका थिए ।

उनले बिस्तारै सतुवाको बेर्ना उमार्नका लागि एक रोपनी जग्गामा टनेल लगाए । अहिले पनि टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आएका छन्। प्रतिबोट रु। १५ देखि ३० सम्म सतुवाको बेर्ना बिक्री गरिरहेका लिम्बुले उत्पादन गरेको सतुवाको ताप्लेजुङको भिन्न स्थानमादेखि अन्य जिल्लामा समेत निर्यात गरिरहेका छन् ।

“सात वर्षअघि लगाएको सतुवाको बेर्नाबाट यतिबेला फल बिक्री गर्ने समय भएको छ तर फल निकालेको छैन”, लिम्बूले भने, “हामी नाका खुलेपछि राम्रो बजार मूल्य आउँछ भन्ने आशामा बसेका छौं ।”

एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जुन समयमा पनि खनेर बिक्री गर्न सकिने उनको भनाइ छ । “एकपटक रोपिएको दाना कुहिन्न, प्रत्येक वर्ष आख्ला सर्दै जान्छ”, उनले भने ।

सात वर्षअघि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म आउने उनको भनाइ छ । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताए ।

चार वर्षअघि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका फक्ताङलुङ गाउँपालिका९६ का सन्तोष राई पनि सतुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्यागे । विदेश जाँदा लाग्ने खर्च सतुवामा लगानी गरी राईले व्यावसायिक खेती सुरु गरेका छन् ।

सतुवाको खेती गर्न सुरु गरेसँगै कोरोना महामारी फैलिएको र सोही कारण बन्द टिप्ता नाका हालसम्म खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा जडीबुटीको बजार बजार शून्य जस्तै बनेको छ ।

“बजार शून्य छ । तैपनि आशा अझै बाँकी छ, कुनै दिन सतुवाले राम्रो बजार मूल्य पाउँछ भन्नेमा विश्वास छ”, राईले भने ।

डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६र७७ मा दुई हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको थियो । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

“सतुवा चीनका व्यापारीले खरिद गर्छन्, ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ता नाका हुँदै चीनको रियु बजारसम्म पुग्छ”, फुङ्लिङ नगरपालिका९५ का सतुवा व्यापारी सविन बानियाँले भने, “कोरोना महामारीका कारण बन्द नाका नखुल्दा व्यापार शुन्य जस्तै बनेको छ ।”

स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोगको औषधि हो । पेट दुखेको, पखाला लाग्दा, बान्ता हुँदा र पेटको जुका पर्दा समेत औषधिका रुपमा यसको प्रयोग हुँदै आएको छ । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने (अल्काइन हुने), अपच हुने, कमजोरी र रिँगटा लाग्ने रोगको समेत उपचारमा सतुवाको प्रयोग हुँदै आएको छ