चितवन– यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।
भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्षेत्रमा धानपछिको बाली र तरकारी लगाउन किसान व्यस्त छन् ।
भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी यतिबेला खेतमा व्यस्त छन । आफूले लगाएको चार बिघा १० कठ्ठाको धान थन्क्याउने र नयाँबाली लगाउन उनलाई भ्याइनभ्याइ छ । अधिकारीले भने, “चुनावको कुरा गर्ने फुर्सद पनि छैन ।” कुन उम्मेदवारलाई भोट दिने भन्ने विषय खेतबारीमै चर्चा हुने गरेको छ ।
अर्मपर्म गरेर खेतीपाती थन्क्याउने क्रममा उम्मेदवारका बारेमा छलफल हुने गरेको भए पनि धेरै किसानले उम्मेदवार छान्न नभ्याएको अधिकारी बताउछन। निर्वाचनको मिति तोक्नेले किसानका लागि समय नमिलाएको उनको गुनासो छ । गुञ्जानगरका विष्णु ढकालले सबै खेतबारीमा भएकाले उम्मेदवारले मतदाता भेट्न नसकेको बताए। उनले भने, “खेतखेतमा पुग्न उम्मेदवारलाई पनि गाह्रै भयो, किसानले पनि यो बेला काम नगरी हुँदैन ।”
गाउँका स्थानीय नेतासमेत किसान हुने भएकाले चुनावी प्रचारप्रसार र घरदैलो समेत प्रभावित हुने गरेको छ । यस अघिका निर्वाचनमा ठूलो सङ्ख्यामा उपस्थिति देखिने गरेको भए पनि यतिबेला कम मात्रै मानिसको उपस्थिति रहने गरेको छ । ढकालले भने, “यो त धान थन्क्याउने र बाली लगाउने बेला हो, किसानका लागि उपयुक्त समय होइन ।” केही अघि वा पछि गरिदिएको भए सजिलो हुने उनको सुझाव छ ।
माडी नगरपालिका–७ का नारायणप्रसाद काफ्ले यो खेती थन्क्याउने र लगाउने समय भएकाले निर्वाचनका बारेमा सोच्न नभ्याएको बताउछन। किसानहरु आफ्नै कामको माचोका कारण चुनावी कार्यक्रममा निस्किन नभ्याएको उनको भनाइ छ । काफ्लेले भने, “थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन ।”
पूर्वी चितवनमा यतिबेला किसान तोरी र तरकारी लगाउन बढी व्यस्त छन् । भोट माग्न पुगेका उम्मेदवारलाई उनीहरुले समयमा मल नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । आउँदो वर्षबाट मलको अभाव नहुने गरी काम गर्न उनीहरुले सुझाव दिने गरेका छन् । घरदैलो अभियानमा कतिपयले मल नपाएको भन्दै आक्रोशित हुने गरेको स्थानीय पत्रकार होमनाथ सापकोटाले जानकारी दिए।
मतदाता घरमा नभेटिएपछि उम्मेदवारलाई पनि निकै कठिन हुने गरेको छ । केही दिनअघि भरतपुरमा पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले किसान घरमा नभेटिँदा घरदैलो अभियानमा उपस्थिति सोचे जस्तो नभएको गुनासो गरेका थिए ।
उम्मेदवारलाई प्रत्यक्ष रुपमा मतदाता भेट्न नपाउँदा सन्तुष्टि नमिल्ने गरेको बताए । कृषि ज्ञान केन्द्र भरतपुरका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यो समय धान थन्क्याउने र नयाँ बाली लगाउने बेला भएको बताए । किसानलाई सबै समय व्यस्त हुने भए पनि यो समय बढी नै मेहनत गर्नुपर्ने समय भएको उनले बताए । किसानले धान थन्क्याएपछि खेतमा जोतेर हिउँदे बाली लगाउने समय भएको उनको भनाइ छ ।