काठमाडौँ– डीएपी मलका नाममा तराईका अधिकांश जिल्लामा ‘प्रोम आरपीएम’ नामको मल बिक्रि वितरण भइरहेको पाइएको छ । डीएपी मल अभावको मौका छोपी केही सप्लायर्सहरुले ‘प्रोम आरपीएम’ अंकित बोरामा सो मल बेचिरहेका छन् ।
प्रोमलाई डीएपी भनेर सप्लायर्सहरुले किसान ठगिरहेका छन् । उक्त मलले डीएपीको काम नगर्ने भए पनि किसान किन्न बाध्य छन् । निजि मल व्यापारीहरुको मिलेमतोमा मधेसका अधिकांश जिल्लामा उक्त मल भित्रिएको छ ।
सप्लायर्सहरुले डीएपी अभावको मौका छोपी अस्वभाविक मूल्यमा उक्त मल बेचिरहेका छन् । सप्लायर्सहरुले प्रोमले डीएपीकै काम गर्ने भन्दै झुक्याइरहेका छन् । प्रोम अंकित बोराको मलले डीएपी सरह काम नगर्ने विज्ञहरु बताउँछन् । एक सप्लायर्सका अनुसार, प्रोम आरपीएममा नाइट्रोजनको मात्रा कति यति नै भनेर यकिन छैन् । तथापी, प्रोम आरपीएम नामको ब्राण्डका नामबाट अधिकांश तराइका जिल्लामा बिक्रि भइरहेका छ ।
एक सप्लायर्सका अनुसार, यो एक रक फस्फेट(rock phasphet) हो । जसलाई डीएपी अर्थात डाइमोनियम फस्फेटसरह नै बिक्रि गरिएको छ । ५० किलोको प्याकेटमा प्रोम आरपीएम ब्रान्डको मल तराईका मल सप्लायर्सले धमाधम बेचिरहेका छन् । जसको मूल्य अहिलेको डीएपी मलसरह प्रति बोरा(५० किलो) को २ हजार २ सय रुपैयाँमा किन्न किसान बाध्य छन् ।
उक्त ब्रान्डको मल निजी सप्लायर्सहरुले भित्र्याएका हुन् । निजी मल सप्लायर्सले मिलेमतोमा नै उक्त मल अबैध रुपमा भित्र्याएर किसान झुक्याइरहेका छन् । किसानलाई पनि भ्रम छरिएको छ कि, यसले डीएपीकै काम गर्छ भनेर । तर, किसानले पनि विभिन्न ब्रान्डमा बजारमा आएका नक्कली मल किन्नुभन्दा अघि एक पटक सोच्ने कि ?