हाते ट्र्याक्टरले गोरु विस्थापित, उत्पादन घट्यो

२०७९ कार्तिक २८ गते प्रकाशित

बझाङ– खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए ।

“कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उनले भने, “गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।”

उनका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उनी बताउछन। तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मङ्सिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पु¥याउथे।

उनको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।

गत मङ्सिरमा एक जना आफन्तले हाते ट्र्याक्टर किनेर ल्याए । यसले उनले आफ्नो खेती मात्रै नभई तीन/चार जना छिमेकीकै खेती बनाए । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दिए । ट्र्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उनी बताउछन।

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्र्याक्टर किनिन् । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित रु ७० हजारमा ट्र्याक्टर भित्र्याइन् । रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्र्याक्टरपछि हप्ता दिनमै सकिन थाल्यो ।

उनी सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थालिन्। पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्र्याक्टर भाडामा समेत प्रयोग गर्न थालेको उनी बताउछिन्। ट्र्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाइन् ।

उनको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात/आठ जना पुरुषले बिहानैदेखि खट्नुपथ्र्यो । आजभोलि भने तीन/चार घण्टामै काम सकिने गरेको छ । “आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।” उनले भनिन् ।

महिलाले ट्र्याक्टर जोत्नु हुँदैन

अन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्र्याक्टरसमेत जोत्दैनन् । “हाम्रोतिर गोरु पनि पुरुष, ट्र्याक्टर पनि पुरुषले नै जोत्छन् ।” उनले भनिन्, “यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन् । ट्र्याक्टर पनि जोत्दैनन् ।” महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताइन् । “हाम्रोतिर अहिलेसम्म कुनै महिलाले हलो जोत्यो भन्ने सुनेका पनि छैनौँ । मैले जोत्ने त परको हो ।” उनले भनिन् ।

गाउँमा कसैको बारीमा ट्र्याक्टर जोत्नु परे पनि पुरुष मान्छे नभए बारी बाँझै रहने उनले बताइन् । “मेरो घरमा सधैँ छोराले मात्रै ट्र्याक्टर जोत्छ ।” छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उनले बताइन्। उनले आफ्नोतिर मात्रै नभई माइतीघरमा समेत पुरुषले मात्रै ट्र्याक्टर जोत्ने गरेको बताइन् । “ट्र्याक्टर जोत्न एकदमै सजिलो हुन्छ भन्छन्, थकाइ पनि लाग्दैन रे तर, हामीले भने अनुभव गरेका छैनौँ ।” उनले भनिन् ।

खेतमा गोरु जोत्नुभन्दा ट्र्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक पिठालेककै सुनिल थापाले बताउछन। “मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मान्छे पनि धेरै हुनुपर्छ । ट्र्याक्टर चलाउन भने जसले पनि सक्छ ।”

‘ट्र्याक्टरले उत्पादन घटायो’

हाते ट्र्याक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषक बताउँछन् । देवलकी कृषक लक्ष्मी जोशीले भनिन् “हाम्रो खेतमा ट्र्याक्टर चलाएको तीन वर्ष भयो । तीनै वर्ष धान उत्पादनमा कमी आयो । गहुँ पनि उत्पादन घटेको छ ।” उनले आफ्नो खेतमा तीन कट्ठा गहुँ हुने ठाउँमा अढाइ कट्ठा मात्रै गहुँ उत्पादन भएको सुनाइन्।

“ट्र्याक्टरले गहिरो भएर हो कि के हो । गोरुले जोतेअनुसारको गहुँ हुँदैन”, खप्तडछान्ना गाउँपालिका–५ कि कविता हमालले भनिन्, “धान भने पहिलेकै जति उत्पादन भइरहेको छ । गहुँमा भने अघिल्ला वर्षहरूको भन्दा उत्पादन केही घट्यो ।” उनले हलोले जोतेमा गहिरो हुने र ट्र्याक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताइन् ।

उनले भनिन्, “हलोले गहिरो खनेर मलभित्र जाने र ट्र्याक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौँ ।” जयपृथ्वी नगरपालिकाले भने हाते ट्र्याक्टरले नभई अन्य कारणले उत्पादन कम भएको हुनसक्ने दाबी गरेको छ ।

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिक्षेत्रका प्राथमिकता अध्ययन गरेर कार्ययोजना …