दुर्गम गाउँका मतदाताको पीडा भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँँदैनन्

२०७९ कार्तिक २८ गते प्रकाशित


गुमेला — गुमेला सोलुखुम्बु चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ ।

विदेश तथा स्वदेशका विभिन्न ठाउँमा छरिएर रहेकाहरु मतदान गर्नकै लागि घर फर्किने क्रम जारी छ । उम्मेदवारलाई घरदैलो गर्न र मतदातालाई रिझाउन होडबाजी नै चल्छ । उम्मेदवार र तिनका कार्यकर्ताहरु मतदातालाई खेतबारीमै गएर भेटेर मत माग्दै गरेका छन् । कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ ।

निर्वाचनले गर्दा पाँच वर्षमा एक पटक हुने मतदाता र उम्मेदवारको प्रत्यक्ष रुपमा भेटघाट हुन पाएको छ । मतदाताले आफ्ना तीतामीठा कुरा धित मरुञ्जेल उम्मेदवार, पार्टीका नेता कार्यकर्तालाई सुनाउन पाएका छन् ।

एक आपसमा राम्रोसित घुलमिल हुने तथा चिनजानको अवसर पनि यही नै हो । उम्मेदवारहरु अरु बेला गाउँघरमा त्यति धेरै गएको र मतदातालाई भेट्ने गरेको हामीकहाँ कमै पाइन्छ । यतिबेला गाउँघरमै गएर मतदातालाई भेट्नु हरेक उम्मेदवारको बाध्यता जस्तै पनि हो । मतदातालाई पनि आफ्नो प्रतिनिधिलाई चिन्ने र आफ्ना समस्या राख्ने महत्वपूर्ण अवसर पनि यतिबेला नै हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ को गुमेला गाउँँको रहस्य भने एकदमै फरक रहेको छ । दूधकोशी नदी किनारको फाक्दिङबाट एक घण्टा उकालो पार गरेपछि पुगिन्छ गुमेला । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने ११ गाउँमध्येको एउटा गाउँ हो यो । यसलाई ठूलो गुमेला र सानो गुमेला भनेर छुट्याएको छ । माथिल्लो वस्ती ठूलो गुमेला र तल्लो वस्ती सानो गुमेलाका नामले चिनिन्छ ।

यहाँ पुग्दा गाउँ सुनसान थियो । घरमा महिला र बालबालिका मात्र थिए, पुरुष जति सबै काममा । यो विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पदमार्गमा पर्ने गाउँ हो । त्यसैले यहाँँका पुरुष महिनौँँदेखि आन्तरिक तथा बाह्य पर्यटक सँगसँगै छन् । कोही भारी बोक्न, कतिपय पथप्रदर्शक बनेर त कतिपयले अरु व्यापार व्यवसाय गर्न गाउँ छाडेका छन् ।

गाउँमा पुग्दा लाक्पाफुटी शेर्पा चिया पकाउँदै थिए । निर्वाचनबारे जिज्ञासा राख्दा उनले भने, “मङ्सिर ४ गते भोट हाल्न जानुपर्छ भन्ने मात्र थाहा छ, अरु कुरा केही थाहा छैन ।” गाउँमा चुनावी गफगाफ केही नहुने शेर्पा बताउछन् । “सबै आ–आफ्नो काममा हुन्छन्, कसैलाई फुर्सदै हुँँदैन, एक ठाउँमा भेला हुँदा पनि अरु नै कुराकानी हुन्छ, चुनावको त केही कुरा नै हुँँदैन”, उनले भने ।

शेर्पालाई जस्तै सर्मिला बराइलीलाई पनि चुनावबारे खासै केही थाहा छैन । मोबाइलमा बज्ने रिङटोनका कारण मङ्सिर ४ गते निर्वाचन हुने र भोट हाल्न जानुपर्नेसम्मउ उनलाई लाई जानकारी छ । “यहाँँ कोहीले पनि चुनावको कुरा गरेको सुन्दिन, भोट माग्न त अहिलेसम्म कोही पनि आएका छैनन्”, निरक्षर बराइलीले भने । जिल्लामा कुन कुन पार्टीबाट को को उम्मेदवार छन् भन्ने पनि उनलाई थाहा छैन् ।

ठूलो गुमेला र सानो गुमेलामा झण्डै ८० परिवारको बसोबास छ । यहाँ शेर्पा, राई, बराइली, कुलुङलगायत जातिको बसोबास छ । गाउँका केही घरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका पर्चा पम्पलेट घरका भित्तामा टाँसिएका देखिन्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे भने कुनै पनि सामग्री भने यहाँ कहीँँकतै भेटिदैनन् । मतदान गर्न र निर्वाचनबारे जानकारी दिन गाउँमा कोही नआएको यहाँका मतदाता बताउँछन् । हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन् ।