माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न चटारो

२०७९ पुष ५ गते प्रकाशित

सर्लाही– सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाएका थिए। उनले गत वर्ष करिब रु तीन लाख ५० हजारको तरुल बिक्री गरेका थिए । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उनले सुनाए।

यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो रु एक सय १० मा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताए। उनका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आउनुभएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन। उनले व्यापारीलाई प्रतिकिलो रु एक सय १० का दरले खेतैमा र काठमाडौँ पु¥याएर प्रतिकिलो रु दुई सय २० मा तरुल बेचेका छन। खर्च कटाएर कट्ठाको रु करिब एक लाख आम्दानी भएको उनले बताए। तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उनको भनाइ छ ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिए। यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब रु छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताए।

उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए। उनका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन् ।

यस्तो छ तरुलको मूल्य

जिल्लाका किसानले तरुलको राम्रो मूल्य पाएका छन् । राम्रो मूल्य पाएपछि तरुल किसान पनि दङ्ग परेका छन् । विगत वर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यसपटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क छन् । जिल्लाको बागमती नगरपालिकास्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएको जानकारी दिए।

यसपटक माघे सङ्क्रान्ति नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरुल प्रतिकिलो रु एक सयदेखि एक सय ६० सम्म खेतैमा पाएको अर्का तरुल उत्पादक किसान राजलाल महतोले बताए। “पोहोर साल त रु ६०–७० प्रतिकिलो थियो”, उनले भने, “यसपटक राम्रो भाउ पाएका छौँ । रामै्र फाइदा हुन्छ होला ।” सङ्क्रान्तिको लागि भन्दै तरुल खरिद गर्न किसानका बारी–बारीमै व्यापारी पुग्ने गरेका छन् ।

यहाँ उत्पादन भएको तरुल ठेकेदारले किसानसँग खरिद गरेर देशका मुख्य बजार हेटौँडा, लहान, काठमाडौँ, विराटनगर र धनगढीसम्म पु¥याउने गरेका छन् । ठेकेदारले खेतमै खनेर लैजाने गरी तरुल ठेक्का लिएका राजघाटका तरुल उत्पादक किसान विनोद दासले बताए। उनका अनुसार किसान आफैँले स्थानीय बजारमा समेत तरुल बिक्रीका लागि लैजाने गरेका छन् ।

“लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकाले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा छ”, रामकुमार मैनालीले बताए। “अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसारभित्र लगाउँदा पनि हुने ।” एउटै बारीमा दुईथरि खेती गर्न पाइने भएकाले पनि किसान तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयवासीको भनाइ छ । तरुल बिक्री वितरणमा अहिलेसम्म किसानले दुःख पाउनु नपरेकामा समेत किसान खुसी छन् ।

माघे सङ्क्रान्तिमा विशेष फलारका रूपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीका रूपमा समेत बिक्री हुने गर्दछ । यसको खेती गर्दा जमिन हेरेर बीउ, खनजोत, खादमल र गोडमेलसमेत गरे राम्रो आम्दानी हुने किसानको भनाइ छ ।