काठमाडौँ । गहुँ सिजनका लागि देशभर मल अभाव भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने २० हजार मेट्रिक टन मल मौज्दातमा रहेको जनाएको छ । मन्त्रालयअन्र्तगतको मल वितरण गर्ने निकाय कृषि सामग्री कम्पनीसँग सो मौज्दात बराबरको मल छ ।
कम्पनीसँग ११ हजार ४५४ मेट्रिक टन युरिया, डीएपी ७ हजार ७६० मेट्रिक टन र पोटास ९९३ मेट्रिक टन गरी कुल २० हजार २०७ मेट्रिक टन मौज्दात रहेको छ ।
त्यस्तै, नेपाल र भारत सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत ३० हजार मेट्रिक टन मल पुस मसान्तसम्ममा नेपाल भित्रिने कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, ५० हजार मेट्रिक टन मल खरिदका लागि प्रतितपत्र(एलसी) खोल्ने तयारीमा छ । उक्त मल माघको दोस्रो हप्तासम्म नेपाल भित्रिने कम्पनीले जनाएको छ ।
यता, ४० हजार मेट्रिक टन मल खरिदका लागि केही दिन अघि ठेक्का सम्झौता भइसकेको छ । जीटुजीसहित १ लाख २० हजार मेट्रिक टन मल आउने प्रक्रियामा छ ।
चालू आर्थिक वर्षमा मल खरिदका लागि १६ अर्ब ७६ करोड विनियोजित बजेटबाट कम्पनीले सबै मल किनिसकेको कार्कीले जानकारी दिए । उनका अनुसार। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप मल खरिदका लागि अर्थ मन्त्रालयसँग असारसम्मका लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट माग गरेका छ ।