बङ्गुर बिक्री नहुँदा वालिङका व्यवसायी चिन्तित

२०७९ पुष ९ गते प्रकाशित

वालिङ– बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन छाडेका फार्मका सञ्चालक भीम लुइँटेलले बताए ।

पहिला पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग अत्यधिक हुने र पु¥याउनै धौधौ हुने गरेकोमा पछिल्लो समय बिक्री नभएर माउ तथा पाठापाठी पाल्नुपर्ने बाध्यता आइपरेको हो ।

त्यहाँ माउ र पाठापाठी गरी एक हजार तीन सय वटा छन् । “पाठापाठी बिक्री भएनन्, बिक्री नभएपछि राख्ने ठाउँ भएन”, उनले भने, “राख्ने ठाउँको अभाव, दानापानी तथा औषधि उपचार अभावले गर्दा चार सयको हाराहारीमा पाठापाठी मरिसकेका छन् ।

”वैदेशिक रोजगारीको सिलसिलामा युएईमा काम गरेका उनले घर फर्केर २०७१ सालमा फार्मको सुरुआत गरेका हुन । सुरुआती चरणमा ब्राह्मणको छोराले बङ्गुर पाल्यो भनेर खिसी गर्नेहरु पछिल्लो समय प्रशंसकसमेत बने । फर्मको सुरुआती चरणदेखि हालसम्म रु नौ करोड लगानी भइसकेको उनले बताए ।

तयारी भएका माउ तथा पाठापाठी बिक्री नभएपछि पाल्नुपर्दा थप लगानी बढेको छ । अहिले सात सय वटा बिक्रीको तयारीमा छन् । “पहिला तयार भएका माउ तथा पाठापाठी बिक्री भई आम्दानी हुन्थ्यो, त्यही आम्दानी दानापानी तथा औषधिमा खर्च गरिन्थ्यो”, उनले भने ।

तयारी अवस्थाका माउ तथा पाठापाठी बिक्री भएमा न्यूनतम रु दुई करोड आम्दानी हुने अनुमान उनको छ । यता माउ तथा पाठापाठी बिक्री हुँदैनन् उता उल्टै दानापानी तथा औषधि उपचारमा मासिक रु २० लाख घाटा लाग्ने दाबी व्यवसायी लुइँटेलको छ । उनि आफैँले फ्रेस हाउस सञ्चालन गरे तर त्यहाँ पनि सन्तोषजनक मासु बिक्री भएन । पाठापाठी बाहिरी जिल्लामा बिक्री हुँदै आएकामा पछिल्लो समय माग आउन छाडेको छ ।