मल खरिद गर्न अर्थ मन्त्रालयसँग थप पौने ८ अर्ब रुपैयाँ बजेट माग

२०७९ पुष १० गते प्रकाशित

काठमाडौँ– रासायनिक मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप पौने ८ अर्ब बजेटको माग गरेको छ । चालू आर्थिक वर्षमा विनियोजित १६ अर्ब ७६ करोड रुपैयाँबाट सबै मल खरिद प्रक्रियामा गइसकेको छ । तर, अन्र्तराष्ट्रिय रुपमा मूल्यवृद्धिका कारण मागअनुसार मल ल्याउन उक्त बजेट अपुग हुने भए पछि अर्थ मन्त्रालयसँग थप बजेट माग गरिएको हो ।

चालू आर्थिक वर्षको असारमसान्तसम्मका लागि थप बजेटले मल खरिद गर्ने योजना कृषि मन्त्रालयको छ । यद्यपी, अर्थ मन्त्रालयले उक्त बजेट उपलव्ध गराएमा मलको अभाव नहुने मन्त्रालयअन्र्तगको कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।

विनियोजित बजेटले सबै मल किनिसकिएको र थप बजेट माग गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । अहिले गहुँ सिजनका लागि मल पर्याप्त छैन् । कृषि सामग्रीको गोदाममा २० हजाट मेट्रिक टन मात्र मौज्दात छ ।

ठेक्का सम्झौता भइ आउने पाइपलाइनमा भने १ लाख २० मेट्रिक टन मल छ । त्यस्तै, भारत सरकारबाट नेपाल सरकारलाई उपलव्ध हुने(जीटुजी)को मल पनि पुस मसान्तभित्र नेपाल भित्रिने कम्पनीले जनाएको छ । जीटुजीको मल, थप बजेट उपलव्ध र पाइपलाईनको मल सबै आइपुगेमा आउँदो वर्षको धान सिजनका लागि मलको अभाव नहुने देखिएको कार्कीले कृषिपानालाई जानकारी दिए ।

जीटुजी विधिमार्फत भारतबाट ३० हजार मेट्रिक टन मल आउनेछ । यता, ५० हजार मेट्रिक टन मल खरिदका लागि प्रतितपत्र(एलसी) खोल्ने तयारीमा छ । उक्त मल माघको दोस्रो हप्तासम्म नेपाल भित्रिने कम्पनीले जनाएको छ ।

यता, ४० हजार मेट्रिक टन मल खरिदका लागि केही दिन अघि ठेक्का सम्झौता भइसकेको छ । जीटुजीसहित १ लाख २० हजार मेट्रिक टन मल आउने प्रक्रियामा छ ।