कोरियाबाट ल्याइएका उन्नत कोरेली बाच्छी र साँढेहरु कमलामाई नगरपालिकालाई हस्तान्तरण

२०७९ पुष १२ गते प्रकाशित

काठमाडौँ– गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको सहयोगमा हेफर इन्टरनेशनल कोरियाको समन्वय तथा हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा उन्नत नश्लका १०१ कोरेली बाछी र २० साँढेहरु लगायत ५००० डोज जमेको विर्य वस्तुगत सहायता स्वरुप प्राप्त भएको छ ।

दक्षिण कोरियाबाट उन्नत नश्लका ती कोरेली बाछी र साँढेहरु २२, २३, २५ र २८ डिसेम्बर २०२२ गरी चार फरक मिति र उडानबाट नेपाल आइपुगेका हुन । नेपालमा आउने उच्च आनुवंशिक स्तरका पशुधनको साथै गाईमा कृत्रिम गर्भाधानका लागि वीर्य (सिमेन) ढुवानी नेपालमा अहिलेसम्मकोे सबैभन्दा ठूलो परिणामको पशु सहयोग हुनेछ ।

कोरियाबाट आएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्यूक्लियस बथान स्थापना गर्न मद्दत गर्नेछ । जसले नेपालमा दीर्घकालीन दुग्ध विकासको दृष्टिले राष्ट्रिय आर्थिक समृद्धिका लागि योगदान पु¥याउनेछ । कोरियाबाट वस्तुगत सहायता रुवरुप प्राप्त यी कोरेली बाछीहरु र साँढेहरु सिन्धुलीको कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

पशु अनुसन्धान परिषद् खुमलटारमा एक कार्यक्रम गरी कोरियाबाट ल्याएका ८१ वटा कोरेली बाच्छी कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ५० कृषक परिवारको सुधारिएको गोठमा र साँढेहरुलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा ती गाई राखिनेछ । “द मिल्कीवे कार्यक्रम” कार्यान्वयन गर्न हेफर नेपालसँग सहकार्य गर्दै कमलामाई नगरपालिकाले देशको दुग्ध क्षेत्रको रूपान्तरणका लागि नमुना डेरी गाउँलाई ज्ञान केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशु) तर्फ सचिव दीपक खरालले दूधको उत्पादन र उत्पादकत्व वृद्धिका लागि निजि क्षेत्र र दातृ निकायबाट प्राप्त वस्तुगत सहायता महत्वपूर्ण रहेको बताए । उनले उन्नत गाईपालनका लागि किसानलाई अभिमुखीकरण तालिम प्रदान गर्नुपर्ने बताए ।

मन्त्रालयका कृषितर्फका सचिव गोबिन्दप्रसाद शर्माले पनि सिन्धुलीलाई डेरी क्षेत्रको नमुना जिल्ला बनाउनुपर्ने बताए ।