यसवर्ष धान उत्पादन बढ्यो, ५४ लाख ८७ हजार ५७२ टन धान उत्पादन

२०७९ पुष १४ गते प्रकाशित

काठमाडौँ– यसवर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन ७ प्रतिशतले बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यस वर्ष ५४ लाख ८६ हजार ५७२ टन उत्पादन भएको हो। गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएको थियो ।

यस्तै, यसवर्ष धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ ।

मन्त्रालयका अनुसार देशभर चैते र वर्षे सिजनको गरी कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो । यद्यपी यो वर्षको उत्पादन गत वर्ष २०७८/७९ को तुलनामा बढी रहे पनि अघिल्लो वर्ष २०७७/७८ को तुलनामा कमी हो । ०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।