काठमाडौँ– राष्ट्रिय च्याउ दिवश आज(शुक्रबार) विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । च्याउ उत्पादक किसान संघले बागमती प्रदेशमा मनाउँदैछ । दिवशका अवसरमा संघले शुक्रबार बिहान नयाँ बानेश्वर देखि माइतीघरसम्म प्रभातफेरी गरेको छ । माइतीघरमा कोणसभा गर्दै संघले राष्ट्रिय च्याउ दिवशलाई राष्ट्रिय दिवशका रुपमा मनाउन आग्रह समेत गरेको छ ।
निजि क्षेत्रका च्याउ उत्पादक किसानहरुले उत्पादन गरेको च्याउले बजार नपाएको र भारतबाट आयातित च्याउले बजार कब्जा गर्दा किसान निराश छन् । च्याउ उत्पादक किसानहरुले स्वदेशी च्याउलाई प्रवद्र्धन गर्दै आत्मनिर्भर बनाउन र भारतबाट आउने च्याउको आयात रोक्नुपर्ने मुख्य माग सरकारसमक्ष राखेका छन् ।
माइतीघरमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले पनि च्याउ उत्पादक किसान संगठित भइ किसान आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्नुपर्ने बताए । उनले किसान रगत र पसिना बगाएर उत्पादन गरेको च्याउले बजार र मूल्य पाउनुपर्ने र च्याउको प्रवद्र्धनका लागि च्याउ विकास बोर्ड नै गठन गरेर जानुपर्ने बताए ।
त्यस्तै, च्याउ उत्पादक संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले भारतबाट निर्वाध आयात हुने च्याउका कारण नेपाली च्याउ किसानले उत्पादन गरे पनि बजार नपाउने अवस्था रहेकाले आयात रोक्न पहल गर्नुपर्ने बताए । सरकारले च्याउ उत्पादक किसानका लागि छुट्टै संयन्त्र निर्माण गरी नेपाललाई च्याउमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउन आग्रह समेत गरे ।