काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष कुल ५४ लाख ८६ हजार ५७२ मेट्रिक टन धान उत्पादन भएको विवरण सार्वजनिक गर्यो । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन ७ प्रतिशतले बढेको छ । गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएको थियो ।
गतवर्षको तुलनामा यस वर्ष धानको उत्पादन र उत्पादकत्व समेत बढेको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । यसरी हेर्दा स्वदेशमा धानको उत्पादन बढिरहँदा पनि आयात भने भइरहेकै छ । मन्त्रालय स्रोतका अनुसार, यस वर्ष उत्पादन भएको धानले अहिलेको जनसंख्याको मागलाई धान्न सक्दैन । अझै ९ लाख मेट्रिक टन धान अपुग रहेको मन्त्रालयका कर्मचारी बताउँछन् । तथापी, अपुग ९ लाख मेट्रिक टन मात्रै धान आयात हुनु स्वभाविकै हो । तर, भारतमा वर्षेनी चामल आयातको ग्राफ उकालो लाग्दै गएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै नेपालले भारतबाट ५५ अर्ब बढीको चामल आयात गरेको थियो । त्यसअघिको आव २०७७/०७८ मा पनि ४५ अर्ब हाराहारीकै चामल भारतबाट नेपाल भित्रिएको थियो । नेपालमा धान उत्पादन बढे पनि आयात भने चुलिँदै गएको छ । धान उत्पादन बढ्दा आयात घट्नुपर्नेमा वर्षेनी बढ्दै गएको छ । यसको मुख्य कारण, नेपालीको खानेबानीमा आएको परिवर्तन र मसिनो बासमतियुक्त चामल आम नेपालीको रोँजाइ भएर हो ।
कृषि मन्त्रालय धान उत्पादनका लागि चैतेधान र उन्नत जातको बीऊमा जोड दिएको छ । धान उत्पादन वृद्धिका लागि सरकारी क्षेत्रमा पहल नभएको होइन् । तर, माग अनुसार धानको उत्पादन अझै हुन सकेको छैन् । समयमै मनसुन, मल, बीऊ र सिँचाइको उपलव्धताले मात्र धान उत्पादन बढ्न सक्छ । बेमौसमी वर्षाका कारण गत वर्ष किसानको हजारौं रोपनी जग्गाको धानबाली नष्ट भए पनि उत्पादन वृद्धि हुनु सुखद पक्ष हो ।
धान उत्पादन बढ्यो भने समग्र आर्थिक वृद्धिमा सकारात्मक योगदान रहन्छ । पछिल्लो पटक भने भारतबाट बढ्दो चामल आयातले व्यापार घाटा बढाएको छ । धान उत्पादन बढाएर मात्र पुग्दैन, उत्पादित धानको संकलन, बजारीकरण र प्रशोधनमा सरकारले ध्यान दिन जरुरी छ । सरकारले धान उत्पादन वृद्धिका लागि ‘मिसन’ कार्यक्रम बनाएर लागू गर्न लागेको कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताए । उनले धान उत्पादन समग्र कृषि र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने क्षेत्र भएकाले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएको बताए ।
सरकारी तथ्यांकमा धान उत्पादन बढ्यो भनेर खुसी हुनुपर्ने अवस्था नरहेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत बताउँछन् । स्वदेशमा उत्पादन हुने धान भारततिर जाने र उताबाट मसिनो चामल आयात गर्नुपर्ने अवस्था अझै रहेको उनी बताउँछन् । सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गरेर संकलन गरी प्रयोगमा ल्याउने हो र खानेबानीमा पनि परिवर्तन ल्याउन नीतिगत रुपमा नै सरकारले पहल गर्नुपर्ने उनी बताउँछन् । अन्यथा, धान उत्पादन बढे पनि यस वर्ष पनि चामल आयात अझै बढ्ने उनको भनाई छ