काठमाडौँ– नेपाल–भारत सरकार सरकार सरकारबीच(जीटुजी) सम्झौतामार्फत ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतको कृषि सामग्री कम्पनीले मल खरिदका लागि यसअघि नै प्रक्रिया अघि बढाइसकेको छ । पहिलो चरणमा, ३० हजार मेट्रिक टन मल पुस मसान्तभित्र नेपाल भित्रिने कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले कृषिपानालाई जानकारी दिए ।
उनले भने, ‘जीटुजीको ३० मेट्रिक टन मल ढिलोमा पुस मसान्तसम्म नेपाल भित्रिइसक्छ । बाँकी मल खरिदका लागि कम्पनीले ठेक्का आह्वान गरिरहेको छ ।’ सरकारले गत वर्ष नै जीटुजी बिधिमार्फत मल खरिद गर्न भारत सरकारसँग समझदारीपत्र(एमओयू) गरेको थियो । सम्झौताअनुसार, पाँच वर्षसम्मका लागि भारत सरकारले नेपाललाई मल उपलव्ध गराउनेछ । जसअन्र्तगत नेपालले पहिलो चरणमा ३० हजार मेट्रिक टन मल ल्याउँदैछ ।
यसअघि कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालकसहितको नेपाली टोली करिब १२ दिनसम्म लगातार भारतीय पक्षसँगको छलफल र संयुक्त बैठकबाट जीटुजीमार्फत मल दिन सहमति जुटेको थियो । भारतीय राष्ट्रिय केमिकल एण्ड फर्टिलाइजर लिमिटेड र नेपालको कृषि सामग्री कम्पनीबीच जीटुजी सम्झौता भएको हो ।
जसबमोजिम, हरेक वर्ष आगामी पाँच वर्षसम्म गरी कुल ९ लाख ३५ मेट्रिक टन मलका लागि जीटुजी सम्झौता भएको थियो । पहिलो वर्ष अर्थात चालू आर्थिक वर्ष २०७९०८० मा डेढ लाख, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो वर्ष २ लाख १० हजार र पाँचौ वर्ष २ लाख १० मेट्रिक टन मल जीटुजीमार्फत आउनेछ ।