जीटुजीको मल भित्र्याउने गरी भारत पुगे राजेन्द्र कार्की

२०७९ पुष १८ गते प्रकाशित

काठमाडौँ– नेपाल र भारत सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत रासायनिक मल नेपाल भित्र्याउन कृषि सामग्री कम्पनीका कायम मुकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की भारत पुगेका छन् ।

आइतबार उनी भारतको दिल्ली उडेका हुन् । जीटुजी सम्झौतामार्फत भारतले पहिलो चरणमा ३० हजार मेट्रिक टन मल नेपाललाई दिँदैछ । उक्त मल पुस मसान्तभित्र नेपाल भित्रिने कम्पनीले यसअघि बताउँदै आएको थियो ।

उक्त मल तोकिएको समयभित्र नेपाल भित्र्याउन र थप मल जीटुजीमार्फत ल्याउनका लागि सम्झौता गर्न कार्की दिल्ली पुगेका हुन । दिल्ली उड्नुअघि कार्कीले भने, ‘जीटुजी बिधिमार्फत ३० हजार मेट्रिक टन मल छिट्टै भित्र्याउने र थप मलका लागि भारतसँग अनुरोध गर्ने गरी जान लागेको हो ।’ जीटुजी विधिमार्फत रासायनिक मल खरिद गर्न गत वर्ष समझदारीपत्र(एमओयू) गर्न पनि कार्कीसहितको टोली भारत गएको थियो ।

पाँच वर्षका लागि भारतले जीटुजीमार्फत नेपाललाई रासायनिक मल दिन सहमति गरिसकेको छ । जीटुजीमार्फत मल खरिद गरी वितरण गर्ने जिम्मा सरकारले कृषि सामग्री कम्पनीलाई नै दिएको छ ।