उखुको समर्थन मूल्य तोक्न ढिलाई, कतै किसानले उखु जलाए, कतै भेली उद्योगलाई दिए

२०७९ पुष १८ गते प्रकाशित

काठमाडौँ– सरकारले उखुको न्युनतम समर्थन मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मारमा परेका छन् । किसानले उखु काटेर क्रसिङका लागि चिनी मिललाई दिने समय बितिसक्दा पनि सरकारले मूल्य नतोकिँदा किसान भने समस्यामा परेका छन् ।

मूल्य तोक्न ढिलाई हुँदा किसानहरु आन्दोलित हुन थालेका छन् । सरकारले निर्धारण गर्ने समर्थन मूल्यमै उखु बेच्न बसेका किसान यतिबेला निराश बनेका छन् । किनकी, उनीहरुको उखु बारीमै सुक्दा समेत सरकारले मूल्य तोक्ने कुनै चासो देखाएको छैन् ।

केही दिन अघि सर्लाही, बारा र पर्साका किसानले समर्थन मूल्य तोक्न ढिलाईप्रति सडकमा उखु लिएर आन्दोलनमै निस्किए । उनीहरुले मूल्य समयमै तोक्नु पर्ने र उखुको बाँकी भुक्तानी पाउनुपर्ने भन्दै सडकमा प्रदर्शन गरे ।

त्यतिमात्र होइन, सर्लाहीका किसानले त सडकमै उखु जलाएर सरकारको बिरोध गरे । तर, उखु किसानको निराशा र बिरोध सरकारले अहिलेसम्म सम्बोधन गर्न सकेको छैन् । यता, नवलपरासीलगायतका अन्य तराइका कतिपय किसानले भने मूल्य तोक्न ढिलाई हुँदा आफ्नो उखु सस्तोमै भेली उद्योगलाई दिएका छन् ।

बारीमै उखु सुक्नुभन्दा कम मूल्यमा भेरी उद्योगलाई उखु बेच्न बाध्य भए किसानहरु । हालसम्म सरकारले मूल्य नतोकिँदिँदा किसानलाई साहुको ब्याज र साँवा भुक्तानी गर्न समस्या परेपछि भेली उद्योगलाई सस्तोमा बेचेका हुन् ।

सरकारले उखुको मूल्य समयमै नतोक्दा किसानको उखु बारीमै सुक्ने अवस्थामा रहेको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले कृषिपानालाई जानकारी दिए । ‘विगतमा पनि राज्यले उखु किसानलाई उपेक्षा गर्यो, अहिलेसम्म पनि समर्थन मूल्य तोकेको छैन, किसान निराश छ । बारीमा उखु सुकिसक्यो, कतिपय किसान विस्थापित र पलायन भइसके’ उनले भने, ‘उखु किसानका मुद्धामा सरकारले कहिल्यै गम्भीर भएन ।’