त्रिशूली– नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए
उनका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् । अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ ।
यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिए । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो ।
“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उनले भने, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ ।”
माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
स्पेनी बुलफाइटको झल्को
नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ । यहीको गोरु जुधाइलाई अनुशरण गर्दै अहिले नुवाकोटसहित देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष मदन श्रेष्ठले बताए।
“पशु जुधाएर मनोरञ्जन लिन हँुदैन भनेर विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो”, विगतलाई स्मरण गर्दै उनी भन्छन, “गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो ।”
तारुकाको गोरु जुधाइको अवलोकन गर्न आन्तरिकसरह नै बाह्य पर्यटक पुग्ने गर्दछन् । टेलिभिजनको पर्दामा स्पेनको बुलफाइट हेर्नेलाई हजारौँको बीचमा बसेर बारीको पाटोमा जुधाएको गोरुलाई स्पेनी झल्को मेटिनेमात्रै होइन त्यो भन्दा उत्कृष्ट हुने गरेको सहभागीको प्रतिक्रिया रहन्छ ।
यहाँ जुधाउने गोरु किसानले आफ्नो खेतीपातीमा जोत्न सघाउन पाल्ने गोरुलाई नै विशेष स्याहारसुसार गर्ने गरेका छन् । जुधाउनका लागि नै भनेर किसानले गोरुलाई बलियो बनाउन, जुरो उमार्नलाई अण्डा, चामल, मासलगायतका घरमा उत्पादित खुराक खुवाउने बताउछन गोरुपालक किसान रुपेश अधिकारी । केही किसानले त माघेसङ्क्रान्ति पर्वमा जुधाउनलाई खेतीपातीमा सघाउने समयसमेत घटाएर जुधाउन भनेर नै स्याहारसुसार गर्ने गरेको बताउछन गोरुपालक अर्का किसान मनोज श्रेष्ठ ।