काठमाडौं । आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी, थारु समुदायले मनाउने यो पर्व अहिले सबैतिर मनाउन थालिएको छ । माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
माघे संक्रान्तिका अवसरमा काठमाडौं लगायत देशभरका विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
माघे सङ्क्रान्तिका दिन घिऊ, तरुल, चाकु, तिलको लड्डु, गिठा, भ्याकुरजस्ता कन्दमूल र परिकार खाएर मनाउने चलन छ ।