माघे संक्रान्तिको शुभकामना–सम्पादकीय

२०७९ माघ १ गते प्रकाशित

नेपालीहरूको महान चाड बडादशैं र तिहार अर्थात् दीपावलीपछि माघी पर्व ,२०७९ नेपालीहरूको घरदैलोमा टुप्लुक्क आइपुगेको छ । यस पर्वलाई माघे संक्रान्ति, मकर संक्रान्ति,माघी पर्व अनेक नामले पुकारिने गरिन्छ ।

विशेष गरी सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको, दक्षिणबाट सूर्य उत्तरायणमा प्रवेश गरेको हुनाले यसलाई मकर संक्रान्ति भनेर भनिन्छ । माघको पहिलो दिन भएकोले माघे संक्रान्ति भनेर भनिएको छ । विशेष गरेर धार्मिक, सांस्कृतिक, सामाजिक, आध्यात्मिक अनेक किसिमले यसको महत्व रहेको छ ।

यो दिन स्नान र खानपानको विशेष महत्व रहेकोले यसलाई स्नान र खानपानको पर्व पनि मान्ने गरिएको छ । बिहान बिहानै जलाशयमा जाने स्नान गर्ने इष्ट देवताको दर्शन गर्ने गरिन्छ । कृषि कर्ममा लागेका कृषकहरुले उत्पादन गरेका खाद्यपदार्थहरू तरुल, गिठा कन्दमुल ,सखरखण्ड लगायत कन्दमूल प्रकृतिका खाद्य पदार्थहरूको सेवन गर्नुका साथै खिचडी, घिउ, चाकु ,तिलको लड्डु सेवन गर्ने गर्ने गरिन्छ ।

माघे संक्रान्तिमा सेवन गरिने खाद्य पदार्थहरूको छुट्टै महत्व रहेको छ । यसले शरीरमा रहेको चिसोपना हटाएर शरीरलाई आवश्यक पर्ने तापक्रम वृद्धि शरीरलाई आवश्यक पर्ने विभिन्न किसिमका भिटामिन र पोषण तत्वहरु प्रदान गर्ने भएकोले खाद्यपदार्थको महत्व रहेको छ ।

नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । यहाँ अनेक किसिमका चाडपर्व रीतिरिवाजहरु रहेका छन् । विभिन्न जातजातिका आआफ्नै पर्व र संस्कृति रहेको पाइन्छ । नेपालीको मौलिक संस्कृति पनि हो माघी पर्व । विशेष गरी तराईदेखि हिमालसम्म पहाड सबै ठाउँमा प्रायः नेपाली जातजातिहरुकले यसलाई हर्ष र उल्लासका साथ मनाउने गर्दछन् । मगर तथा थारु जातिले त आफ्नो महत्वपूर्ण चाडका रुपमा यसलाई मनाउने गरेको पाइन्छ । शरीरलाई न्यानो राख्नको लागि माघी पर्वमा खाइने खाना अत्यन्त उपयोगी देखिन्छ ।

छाला तथा विभिन्न रोगले ग्रस्त भएको शरीरलाई निको पार्न स्वस्थ बनाउन पनि यसको महत्व रहेको छ । यस दिन नेपाल सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ । गङ्गा तथा जलाशयमा प्रातः स्नान गरेमा धेरै पाप विनाश हुन्छ छ भनेर गंगा सागरमा स्नान गर्ने गरिएको पाइन्छ । उत्तरायण देवताहरूको दिन हो भने दक्षिणायन देवताहरूको रात मान्ने गरिएको छ । उत्तरायण समयमा विशेष गरी विवाह, वर्तबन्ध, हवन लगायत विभिन्न माङ्गलिक कार्यहरू सम्पन्न गर्ने गरिएको छ । माघी पर्वले विविधताको प्रतिनिधित्व पनि गर्दछ ।

शरीरलाई आवश्यक पर्ने प्रोटिन क्याल्सियम लगायत विभिन्न तत्व प्राप्त हुने हुनाले यस समयमा खाने खाद्यपदार्थको पनि आफ्नै महत्व रहेको छ र यसले शरीरलाई प्रतिरोधी क्षमता वृद्धि गर्ने तापक्रम वृद्धि गर्ने गर्दछ । धार्मिक आध्यात्मिक दृष्टिले हेर्दा पनि यस समयमा गरिएका दान दातव्य होम हवन सबै आ(आफ्नै महत्व छ। वैज्ञानिक महत्वका दृष्टिले पनि यसको महत्व रहेको छ ।

शिशिर ऋतुमा पर्ने यो माघी पर्व हामी सबैको पर्व हो, सारा नेपालीहरूको साझा पर्व हो । यस समयमा मृत्युवरण भएका मानिसले पनि सहजै स्वर्ग बैकुण्ठ गइन्छ भन्ने विश्वास गरिन्छ । आजकै दिन भीष्म पितामहले आफ्नो इच्छा मृत्यु वरण गरेको वर्णन पुराणहरूमा पाइन्छ । भागीरथी गङ्गा अवतरण भएको दिन र यसै दिन भगीरथ ऋषिले तपस्या द्वारा गंगालाई धर्तीमा अवतरण गरेर आफ्ना कुल पितृहरूको उद्धार गरेको दिनका रूपमा लिन सकिन्छ ।

समग्रमा नेपाल सांस्कृतिक रूपमा सम्पन्न मुलुक रहेको छ र यस्ता माघी जस्ता विभिन्न पर्वहरुले नेपालको मौलिकता दर्शाउने गरेका छन् । त्यसैले हामी सबैले धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक आर्थिक कृषकद्वारा उत्पादित वस्तुहरूको बिक्रीवितरण प्रवर्द्धन गर्न र मानव स्वास्थ्यका दृष्टिले उपयोगी रहेको माघी पर्व जस्ता विभिन्न पर्वहरूलाई शिष्ट सौम्य र सभ्य तरिकाले मनाउन आवश्यक छ । अन्त्यमा मकर सक्रान्ति माघी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।