ज्वालाकुमारी शाह दोस्रो पटक बनिन् कृषि मन्त्री

२०७९ माघ ३ गते प्रकाशित

काठमाडौँ– नेकपा एमालेबाट ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएकी छन् । यो सँगै उनी दोस्रो पटक कृषि मन्त्रालयको जिम्मेवारी आएकी हुन् । यसअघि केपी शर्मा ओली सरकारको पालामा २०७८ जेठ २४ मा उनी करिब २० दिनका लागि कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

माओवादीबाट अलग्गिएर नेकपा एमालेका लागेकी साह २०६६ सालमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री समेत बनिन् । माओवादी छाडेकी साह अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै नेतृत्वको सरकारमा कृषि मन्त्री बनेकी छन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् । २०७४ को निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (१) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । बाराको जितपुर सिमरा वडा नं। १६ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् ।

उनी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा ३ बाट जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई पराजित गर्दै सांसद बनेकी हुन् ।