काडमाडौं– तरकारीको समर्थन मूल्य तोकी खरिद सुनिश्चितता गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरु आफूले उत्पादन गरेका तरकारीहरु सडकमा फ्याँकेर गरेको विरोधपछि अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघलगायतका किसान संघसंस्थाले संयुक्त आयोजना गरेको पत्रकार सम्मेलन गर्दै सरकारसँग उत्पादित तरकारीको उचित बजारीकरणका लागि समर्थन मूल्य तोक्नुपर्ने माग गरेका हुन् ।
सो अवसरमा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले किसानका समस्या र मुद्धामा सरकार गम्भीर हुन्ुपर्ने बताए ।
‘नेपाली किसान बारम्बार अनेक खालका समस्याबाट पिडीत हुँदै आएका छन् । खेतीको समयमा मल विऊ नपाउने, उत्पादनका लागि चाहिने सिंचाई, सहुलियत दरको कर्जा, बीमा, प्रविधि र प्राविधिक सेवा नपाउने र उत्पादनपछि सोको मूल्यसमेत नपाउने जस्ता समस्याबाट थलिएका किसान पटक पटक खेतवारीदेखि सडकसम्मका विभिन्न प्रकारका आन्दोलनमार्फत नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यान आकर्षण गराउने प्रयास गरिनै रहेका छन् । तर, सरकारले किसानका समस्याको ठोस समाधान दिन सकेको छैन । भएका प्रयासहरु पनि पर्याप्त छैनन् । सरकारी निकायहरुबाट किसानका समस्याप्रति गंभिर भै समाधान दिनेभन्दा पनि आलटाल गरेर पन्छिने प्रवृति देखिदैं आएको छ ।’ उनले बताए ।
भरखर मात्रै बर्डफ्लुका कारण पक्षीापालक किसानले ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै उनले भने, ‘किसानले राहत र क्षतिपूर्ति पाएका छैनन् । गतवर्ष परेको वेमौसमी वर्षाले पारेको क्षतिको किसानले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन् । विमित किसान बीमाको समयमै भुक्तानी पाएको अवस्था छैन् ।’
‘विभिन्न प्रयोजनका लागि प्रदान गर्ने गरिएको अनुदान लक्षित समुदायसम्म नपुगेको गुनासो छदैछ । खाद्यान्यको समर्थन मूल्य समयमै घोषणा हुँदैन, भए पनि खरिद गरिदैन, खरिद गरेपनि अत्यन्त न्यूनमात्रामा गरेर सरकारी निकायहरु लोकाचार निभाउने प्रयत्न गर्दछन् । यस्तै कारणहरुले किसानले कतिसमयसम्म सहने ? किसान सहन नसक्ने अवस्थामा पुगेका छन् जसको परिणाम चितवनका तरकारी किसानले विद्रोहस्वरुप आफ्नो उत्पादन नष्ट गरेका हुन ।’ नेपाल किसान महासंघकी सदस्य निशा श्रेष्ठले बताइन् ।
चितवनका तरकारी उत्पादक किसानहरुको उठाएका मागसहितको आन्दोलनप्रति संयुक्त ऐक्यवद्धता जाहेर गर्दै किसानका माग सम्वोधन गर्न गराउन किसानसंगै आन्दोलित हुने सरोकारवालाहरुको निष्कर्ष छ ।