दाउराको सट्टा ‘गुइँठा’

२०७९ फाल्गुन ४ गते प्रकाशित

दाङ– दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ ।

दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताइन। “दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ”, उनले भनिन, “गुइँठा सजिलो लाग्छ ।”

गाई, गोरु, भैँसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दैआएका छन् । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ । एक बिटा गुइँठा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन ।

गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ । “गुइँठामा पकाएको खाना मिठो हुन्छ”, तुलसीपुर–१२ का खुसीराम चौधरीले भने। खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ ।

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिक्षेत्रका प्राथमिकता अध्ययन गरेर कार्ययोजना …