काठमाडौं– सर्वोच्चबाट सफाई पाएर गत पुस २० गते कृषि सामग्री कम्पनीमा नेत्रबहादुर भण्डारी भित्रिएसँगै रासायनिक मल खरिद प्रक्रिया अघि बढ्न सकेको छैन् । कमसल मल खरिद गरेर आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका उनी एक वर्षपछि सफाइ पाएर कम्पनीमा प्रवन्ध सञ्चालकको जिम्मेवारी आए ।
उनी कम्पनीमा हाजिर भएको डेढ महिना देखि न मल खरिदका लागि ठेक्का आह्वान(टेन्डर) निकाल्न सकेका छन् न थप मल खरिदका लागि पहल नै गरेका छन् । बरु, आफु निलम्बनमा परेका बेला भएका निर्णयहरुमा हस्तक्षेप गर्ने र केही कम्पनीलाई कालोसूचीमा किन हालेको भनेर उल्टै कर्मचारीलाई हप्कीदप्की गर्न उद्धत देखिएका छन् ।
कम्पनी एक कर्मचारीका अनुसार, उनी मल खरिदमा कत्ति पनि गम्भीर छ्रैनन् । बरु, अदालतबाट सफाई पाएको खुसीमा आफु निकट कर्मचारी र मल खरिद गर्ने बिक्रेतासँग गोप्य भेटघाट र छलफल गर्दै आइरहेको बुझिएको छ ।
कार्यालयमा आन्तरिक द्धन्द्ध मच्याउने र किचलो खडा गर्ने बाहेक अहिलेको नेतृत्वले केही नगरेको ती कर्मचारी बताउँछन् । यसअघि कम्पनीमा निमित्त प्रवन्ध सञ्चालकमा राजेन्द्रबहादुर कार्की रहँदा टेन्डर भएको मल अहिले आइरहेको छ ।
३० हजार मेट्रिक टन नेपाल–भारत सरकार–सरकारबीच(जीटुजी) बिधिमार्फतको मल भित्रिइसकेको छ भने बाँकी एक लाख मेट्रिक मल आउने क्रममा र पाइपलाइनमा छ ।
तर, भण्डारी आएपछि भने मल खरिदका लागि एउटा पनि टेन्डर भएको छैन् । ४० हजार मेट्रिक टन मल खरिदका लागि यसअघि नै सूचना निकालेर टेन्डर प्रक्रियामा छ । त्यो बाहेक बाँकी मल खरिदका लागि टेन्डर निकालिएको छैन् ।
यो सँगै आउँदो वर्षको बर्खे धानबालीका लागि रासायनिक मलको चरम अभाव हुने सम्भावना देखिएको छ । किनकी, मल खरिद भएर गोदामसम्म आउन करिब ँ६ महिना समय लाग्छ । तर, अहिलेसम्म पनि मल खरिदका लागि टेन्डर नहुनुले सफाई पाएर आएको भण्डारी नेतृत्वले किसानलाई आउँदो असार–साउनसम्म मल दिन सक्ने अवस्था देखिँदैन ।
बर्खेबालीको धान सिजनका लागि किसानले जेठ लागेदेखि नै मल खोज्छन् । ढिलोमा असारसम्म धानको बीउ(ब्याड) राख्न मल चाहिन्छ । साढे ४ महिनापछि बर्खे धानबालीको सिजन सुरु हुन्छ । तर, त्यसबेलाका लागि किसानलाई मल उपलव्ध गराउन अहिलेसम्म सबै टेन्डर भइसक्नुपर्ने थियो । तर, भएको छैन।
आउँदो बर्खेसिजनका लागि मल खरिद गर्न अर्थ मन्त्रालयले ७ अर्ब ७५ करोड बजेट सुनिश्चितता गरिसकेको छ । तर, रकम सुनिश्चितता हुँदा पनि मल खरिदका लागि कृषि सामग्री कम्पनीले चासो देखाएको छैन ।
अहिले पाइपलाईनमा करिब एक लाख मेट्रिक टन मल मात्र छ । उक्त मल बैशाखसम्मलाई पुग्ने देखिन्छ । त्यसपछि भने मल अभाव हुन सक्ने देखिन्छ । रासायनिक मलका बिषयमा कृषिपानाले कुरा गर्न खोज्दा यसअघि कार्यालयमा पनि भण्डारीले अन्र्तवार्ता दिन्न, बोल्दिनजस्ता भाष्य प्रयोग गरेका थिए । उनको यो खालको आचरण र मल खरिदका लागि उनले देखाएको निरिहताको प्रतिफल आम किसानले आउँदो बर्खेधान सिजनमा भोग्नेवाला छन् ।
यसतर्फ तालुक निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मन्त्री ज्वालाकुमारी शाहको ध्यान जान जरुरी छ । किसानले विगतका वर्षमा जस्तो मल अभावको नियति कम्तीमा पनि भोग्नु नपरोस्, यसमा मन्त्री शाहले नै हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ ।