रासायनिक मल खरिद गर्न साढे ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता

२०७९ फाल्गुन ११ गते प्रकाशित

काठमाडौं– चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले थप साढे ७ अर्ब रुपैयाँ स्रोतको सुनिश्चतता गरेको छ । थप बजेट माग गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिँदै थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप बजेट माग गर्दै यसअघि नै प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । केही दिनअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेपछि यस्तो निर्णय भएको हो ।

चालू आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न सरकारले १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।