काठमाडौं। निजी डेरीले मनोमानी ढंगले दूधको मूल्य बढाएका छन् । बिहीबार देखि नै लागू हुने गरी निजी डेरी उद्योगीले दूधको प्रतिपोका मूल्य ५० रुपैयाँ बनाएका छन् । फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाएसँगै निजी डेरीले पनि नयाँ मूल्य निर्धारण गरेका हुन् ।
मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार ४ फ्याट र ८ एसएनएफको कच्चा दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार अब किसानले प्रतिलिटर ६५ रुपैयाँ पाउने छन् । तर उपभोक्ताले तिर्ने मूल्य भने दुग्ध विकास संस्थानको सिफारिसअनुसार हुने छ । जसका लागि आजै संस्थानको बैठक बस्दै छ ।
गत वर्षको तुलनामा दूधको उत्पादन सामग्रीहरू आहारा (दाना, चोकर, ढुटो, पराल, घाँस ), श्रमिकको ज्याला, मुद्रास्फीति, औषधि उपचार र स्थिर पुँजीलगायत अन्य व्यवस्थापन खर्चमा भएको वृद्धिले गर्दा किसानले उत्पादन गर्ने दूधको उत्पादन लागतमा समेत भएको वृद्धि भएकाले मूल्य बढेको जनाइएको छ । किसानले लागतअनुसार दूधको न्यूनतम मूल्य पाउन अति आवश्यक भएकाले कृषकले प्राप्त गर्ने न्यूनतम कच्चा दूधको मूल्य पुनरवलोकन एवं समायोजनका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले अध्ययन गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारीस गरेको थियो ।
सोहीबमोजिम मन्त्रिपरिषद्को फागुन १९ गतेको निर्णयअनुसार कृषकले उत्पादन गरेको कच्चा दूधको मूल्य उत्पादन स्थल (फार्म) वा संकलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट ७ रुपैयाँ १५ पैसा, एसएनएफ प्रतियुनिट ४ रुर्पयाँ ५५ पैसा, कच्चा दूधको (४ युनिट फ्याट र ८ युनिट एसएनएफ) प्रति लिटरको न्यूनतम मूल्य रु ६५ (पैसट्ठी) कायम गरिएको छ । यसै मूल्यअनुसार खरीद तथा बिक्री गर्न बोर्डले जानकारी गराएको छ ।