काठमाडौं– फास्ट ट्रयाकमार्फत रासायनिक मल खरिद गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खरिद ऐन मिचेर महंगो दरमा मल खरिद गरेको पाइएको छ । सार्वजनिक खरिद ऐन मिचेर साल्टले फास्ट ट्रयाकमार्फत ल्याउने मल अत्यन्त महंगोमा खरिद गर्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला रासायनिक मल खरिद फास्ट ट्रयाकमा खरिद गर्ने जिम्मा एकलौटी रुपमा साल्टलाई दिइएको थियो । ११–११ दिनको फरकमा टुंग्याएका ४ वटा टेण्डरबाट ७ अर्ब ५० करोड रुपैयाँमा ४७ हजार मेट्रिक टन युरिया र ४५ हजार मेट्रिक टन डीएपीसमेत कुल ९२ हजार टन मल खरिद गर्न गर्न साल्टलाई जिम्मा दिइएको थियो ।
रोचक कुरा के छ भने, कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई पन्छाएर एकलौटी ढंगले सबै मल खरिदको जिम्मेवारी साल्टलाई दियो । सरकारको स्वामित्वको कृषि सामग्रीले फास्ट ट्रयाकबाट मल खरिद गर्न दिइएन् ।
कारण, साल्टसँग सेटिङ मिलाएर कमिसनका लागि फास्ट ट्रयाकको मल खरिद गर्ने जिम्मा दिइएको देखिएको छ । त्यतिमात्र होइन, साल्टले खरिद गर्ने मल इन्डियन पोटास लिमिटेड(आइपीएल) ले इरानबाट झिकाउँदैछ ।
फास्ट ट्रयाकबाट साल्टले आपूर्तिकर्ता आइपीएललाई ४१९ डलर प्रतिमेट्रिक टन मल खरिद गर्न ठेक्का दिइसकेको छ । आइपीएले भने इरानबाट १९० डलर प्रतिमेट्रिक टनका दरले युरिया मल खरिद गरेर नेपाल ल्याउँदैछ । यसबाट के बुझ्न सकिन्छ भने प्रतिमेट्रिक टन २२९ डलर रकम कमिसनको भागबण्डा जाने निश्चित छ ।
गोप्य स्रोतका अनुसार, अहिले इरानबाट खरिद गरिएको २७ हजार ४५० मेट्रिक टन मल फरचुन अफ लर्ड जहाज मल लिएर ओमान हुँदै हल्दियाको पोर्टका लागि हिडिसकेको छ । फास्ट ट्रयाकमा भित्रिन लागेको उक्त मल इरानमा प्रतिमेट्रिक टन १९० डलरमा खरिद गरिएको हो ।
उक्त मल आइपीएलले फास्ट ट्याकको नामबाट ४२९ प्रति मेट्रिनका दरले सार्वजनिक खरिद ऐन विपरित खरिद गर्न लागेको पाइएको छ । यसअघि प्रतिनिधि सभामा समेत जनता समाजबादी पार्टी(जसपा)की सांसद रञ्जुकुमारी झाले सरकार–सरकारबीच(जीटुजी)लाई पन्छ्याएर साल्टलाई फास्ट ट्रयाकमार्फत मल खरिद गर्ने सम्झौता किन गरियो ? यसमा २ अर्ब माथिको घोटाला हुँदैछ भनेर सदनमा कुरा उठाएकी थिइन् ।
त्यसपछि यस विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी समेत परेको थियो । सिंगापुरको मल आपूर्तिकर्ता कम्पनीले नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुर समेत हालेको तथ्य खुलेको छ । तर, अनुगमन कार्यालयले भने अहिलेसम्मे कुनै कारबाही गरेको जानकारी दिएको छैन ।
सदन र सडकसम्म मल खरिदमा चलखेल हुन लागेको विषयहरु उठिरहेका छन । कमिसनका लागि खरिद ऐन मिचेर मल खरिद गरिएको विषय बाहिर आएपछि साल्टका उच्च पदस्थ कर्मचारी तर्सिएका छन् । कमिसनका काण्डमा मुछिने डरले हालै साल्टका उपप्रवन्धक समेत रहेका पंकज जोशीले पदबाट राजीनामा दिएको खुलेको छ ।
यतिसम्म कि, इरानबाट उक्त मल आयातका लागि आइपीएलले भारतमा नक्कली कागजात बनाइरहेको समेत खुलेको छ । रासायनिक मल खरिदको यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यथासीघ्र छानबीन गर्नुपर्ने आवश्यकता छ ।