पूर्वकृषिमन्त्री शाहले सदनमा उठाइन मल खरिदमा भएको अनियमितताको बिषय

२०८० बैशाख २७ गते प्रकाशित

काठमाडौं– पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले रासायनिक मल खरिदमा देखिएको अनियमितताको बिषयमा संसदमा उठाएकी छन् ।

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बुधबार प्रतिनिधिसभामा बोल्दै उनले कृषि मन्त्रालयले जीटुजी सम्झौतालाई पन्छाएर फास्ट ट्याकमार्फत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएर कमिसनको चलखेल रचिएको बताइन् ।

उनले सार्वजनिक खरिद ऐन विपरित ११–११ दिनको फरक पारेर रासायनिक मलको टेन्डर गरिएको बताइन् । खरिद ऐन विपरित कुल ७ अर्ब ५० करोड रुपैयाँको रासायनिक मल खरिदका लागि साल्टले इन्डियन पोटास लिमिटेड(आइपीएल)सँग ठेक्का सम्झौता भएको उनले बताइन् ।

आइपीएलले प्रतिमेट्रिक टन ४९० डलरका दरले टेन्डर लिएको भएको र इरानबाट १९० डलर प्रतिमेट्रिक टनका दरले मल ल्याएर बाँकी २२९ डलर प्रतिमेट्रिक टन रकम कमिसन खाने खेल रचेको बताइन् ।

टेन्डर गर्दा सरकारको स्वामित्व रहेको कृषि सामग्रीलाई नदिएर कमिसनका लागि साल्टलाई फास्ट ट्रयाकको मल ल्याउने जिम्मा दिइएको बताइन् । मल खरिदबाट आउने कमिसन मन्त्रालय र उच्च कर्मचारीसम्म जाने गरी चलखेल गरिएको उनको भनाई छ ।

२७ हजार ४५० मेट्रिक टन मल इरानबाट १९० डलर प्रतिमेट्रिक टनका दरले ल्याउँदै गरिएकोमा बाँकी २२९ डलर रकम कहाँ जाँदैछ ? त्यसको पनि कडाभन्दा कडा अनुसन्धान आयोग गठन गरेर गरियोस् भन्ने आग्रह गरिन् । उनले मलको यसखालको चलखेलमा अख्तियारले अनुसन्धान गर्नुपर्ने बताइन् ।

बुधकारकै प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै जनता समाजबादी पार्टी(जसपा)की सांसद रञ्जुकुमारी झाले पनि साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद ऐनलाई मिचेर मल ल्याउन लागिएको बताइन् । उनले ऐन मिचेर मल ल्याउँदा फस्ने डरले साल्टका उपप्रवन्धकले समेत राजीनामा दिएको बताइ्न ।