प्रतिवन्धित देशबाट ल्याइएको मल छुटाउन दिल्ली उडे पंकज जोशी र विष्णु पोखरेल

२०८० बैशाख २८ गते प्रकाशित

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेस लिमिटेडले खरिद ऐन मिचेर इरानमा ल्याउन लागेको रासायनिक मल छुटाउन कृषि सामग्री कम्पनी र साल्टका उच्च कर्मचारी भारतको दिल्ली उडेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको उप–प्रवन्धक पदबाट राजीनामा दिएका पंकज जोशी र कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक विष्णु पोखरेल विहीबार दिल्ली उडेका हुन् ।

इरानबाट प्रतिमेट्रिक टन १९० डलरमा किनिएको २७ हजार ४५० मेट्रिक टन रासायनिक मल छुटाउन र आवश्यक कागजात मिलाउन दुवै निकाय कर्मचारी भारत गएको बुझिएको छ । साल्टबाट राजीनामा दिएका जोशी आफुले लिनुदिनुपर्ने हिसाव र कागजात मिलाउन दिल्ली जान लागेको खुलेको हो ।

रासायनिक मल इरानबाट नभएर अन्य देशबाट हो भन्ने प्रमाण जुटाउन दुवै निकाय अधिकारी भारतको गएको कृषिपानालाई उपलव्ध स्रोतले जनायो । सञ्चार माध्यम र संसदसम्म मल खरिदमा भष्ट्राचार भएको कुरा उठे पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नियमनकारी निकाय अझै मौन छन् ।

रासायनिक मल खरिद गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने छ । संयुक्त राष्ट्र संघले नै प्रतिवन्धित गरेको मुलुकबाट मल ल्याउको मलको डलरमा भुक्तानी गर्दा पछि अमेरिकाले राष्ट्र बैंकलाई प्रश्न उठाउन सक्ने सम्भावना छ ।

महावाणिज्य दुतावासको निमन्त्रणामा गएको हवला दिए पनि कलकत्ता वा अन्य देशबाट मल ल्याएको कागजात मिलाउन त्यहाँ पुगेको रहस्य खुलेको छ । कतिसम्म भने, इरानबाट ल्याइएको मल नक्कली कागजात बनाएर अन्य देशबाट ल्याएको प्रमाण जुटाउन खोजिँदैछ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालेका बेला फास्ट ट्रयाकमार्फत मल खरिद गर्ने जिम्मा साल्टलाई दिएको थियो । सरकारी स्वामित्व कृषि सामग्री कम्पनीलाई पन्छाएर कमिसनका लागि हतार हतारमा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको मल खरिदका लागि साल्टसँग सम्झौता गरिएको हो । सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत मल खरिद गर्दा कमिसन नआउने भएपछि मन्त्रालय र उच्च कर्मचारीको सेटिङमा साल्टलाई मल खरिदको जिम्मा दिइएको थियो ।

साल्टले ११–११ दिनको फरकमा टुंग्याएका ४ वटा टेण्डरबाट ७ अर्ब ५० करोड रुपैयाँमा ४७ हजार मेट्रिक टन युरिया र ४५ हजार मेट्रिक टन डीएपीसमेत कुल ९२ हजार टन मल खरिद गर्न गर्न साल्टलाई जिम्मा दिइएको थियो ।

साल्टले खरिद गर्ने मल इन्डियन पोटास लिमिटेड(आइपीएल) ले इरानबाट झिकाउँदैछ । र, फास्ट ट्रयाकबाट साल्टले आपूर्तिकर्ता आइपीएललाई ४१९ डलर प्रतिमेट्रिक टन मल खरिद गर्न ठेक्का दिइसकेको छ । आइपीएले भने इरानबाट १९० डलर प्रतिमेट्रिक टनका दरले २७ हजार ४५० मेट्रिक टन युरिया मल खरिद गरेर नेपाल ल्याउँदैछ ।

इरानबाट खरिद गरिएको २७ हजार ४५० मेट्रिक टन मल फरचुन अफ लर्ड जहाज मल लिएर ओमान हुँदै हल्दियाको पोर्टसम्म आइसकेको छ । हल्दियाबाट कलकत्ता हुँदै उक्त मल नेपाल ल्याउने प्रपन्च रचिएको छ । जुन मल, आइपीएलले इरानमा प्रतिमेट्रिक टन १९० डलरमा खरिद गरिएको हो ।

बुधकार प्रतिनिधि सभामा पूर्वकृषिमन्त्री ज्वालाकुमारी शाहले पनि सरकारी स्वामित्वको कृषि सामग्रीलाइ पन्छाएर खरिद ऐन विपरित साल्टलाई फास्ट ट्रयाकमार्फत मल खरिदको अनुमति दिइएको बताएकी थिइन् । त्यस्तै, जनता समाजबादी पार्टी(जसपा)की सांसद रञ्जुकुमारी झाले सरकार–सरकारबीच(जीटुजी)लाई पन्छ्याएर साल्टलाई फास्ट ट्रयाकमार्फत मल खरिद गर्ने सम्झौता किन गरियो ? यसमा २ अर्ब माथिको घोटाला हुँदैछ भनेर सदनमा कुरा उठाएकी थिइन् ।

त्यसपछि यस विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी समेत परेको थियो । सिंगापुरको मल आपूर्तिकर्ता कम्पनीले नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुर समेत हालेको तथ्य खुलेको छ । तर, अनुगमन कार्यालयले भने अहिलेसम्मे कुनै कारबाही गरेको जानकारी दिएको छैन ।

यतिसम्म कि, इरानबाट उक्त मल आयातका लागि आइपीएलले भारतमा नक्कली कागजात बनाइरहेको समेत खुलेको छ । रासायनिक मल खरिदको यस विषयमा नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयलको यथासीघ्र ध्यान जान जरुरी छ ।