बागलुङ – बागलुङ नगरपालिकामा नगरउप प्रमुखको जिम्मेवारी सम्हालेको आज १ वर्ष पुुगेको छ । जिम्मेवारी सम्हालेको दोस्रो वर्ष प्रवेशको अवसरमा समस्त बागलुङ नगरबासीहरुमा उच्च सम्मान सहित गत निर्वाचनमा नगरबासीहरुबाट प्राप्त जनमतको स्मरण गरिरहेको छु ।
यो अवसरमा आफ्नो अमूल्य मतदानका लागि आदरणीय नगरबासीहरुमा हार्दिक अभिनन्दन सहित कृतज्ञता व्यक्त गर्दछु ।
बिगत १ वर्षलाई फर्केर हेर्दा धेरै अनुभवहरु गरेको छु ।
जनस्तरबाट धेरै सल्लाह तथा सुझावहरु पाएको छु । गएको वर्षबाट धेरै कुराहरु सिक्ने अवसर पाएको छु । यो अवधिमा अभिव्यक्त प्रतिक्रिया, स्वच्छ र सिर्जनशिल आलोचनालाई सकारात्मक रुपमा ग्रहण गरेको छु ।
संघीय, प्रदेश तथा विभिन्न निकायका उच्च पदस्थ व्यक्तित्वहरुसँगको भेट तथा सम्पर्क र सम्बन्ध विस्तारले जिम्मेवारी सम्पादनमा थप प्रेरणा मिलेको छ ।
बागलुङ नगरपालिकामा निर्माण कार्य अधुरा रहेका वा संचालन हुन नसकेका बलेवा एयरपोर्ट, बसपार्क, बृद्धाश्रम, नगर अस्पताल, मालिका वन्यजन्तु संरक्षणपार्क, जल्केनी काभ्रेडाडा सडक, औद्योगिक ग्राम, धारापानी सांधखोला सडक, मूूलपानी स्वास्थ्य चौकी भवन, रिठेखोला पुल, घर नम्बरिङ्ग लगायतका योजनालाई टुङ्गोमा पुयाउन अत्यान्त जरुरी रहेको छ । उल्लेखित योजनाहरु मध्ये अधिकांश योजनाहरुमा कानुनी, प्राविधिक तथा आर्थिक समस्याहरु परेको छ ।
विगत वर्षहरुमा शुरु गरिएका र हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएका आयोजनाहरुको काम पुरा गर्नु हाम्रो दायित्व रहेको छ । साथै निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरुको कार्यान्वयन महत्वपूर्ण जिम्मेवारी रहेको छ ।
प्रस्तुत जिम्मेवारीहरु जनताको माझमा रहेर पुरा गर्ने तर्फ निरन्तर, इमान्दार प्रयास गरिरहेको र यस प्रयासको सकारात्मक परिणाम देखिन थप केही समय लाग्ने देखिएको छ ।संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान राजश्व घट्नु तथा स्थानीय स्तरमा पनि लक्ष्य अनुसारको राजश्व संकलन हुन नसक्नु हाम्रो लागी चुनौति रहेको छ ।
यसै गरी दिगो विकासका लागि जनसहभागिता जुटाउन नसक्नु तथा कार्यालयबाट प्राप्त हुनु पर्ने सेवा प्रवाह नागरिक मैत्री बनाउन विशेष पहल गर्नु पर्ने देखिएको छ । सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन, चुष्त र छिटो छरितो बनाउन तयार गरिएको योजना नगरपालिकाको आफ्नै कार्यालय नहुदा समस्या परेको छ ।
नागरिक मैत्री सेवा प्रवाहलाई सहजिकरण गर्नका लागि वडा कार्यालयहरुलाई मजबुद बनाउनु पर्ने महशुस गरिएको छ । प्राविधिक कर्मचारीहरुलाई पर्याप्त साधन श्रोत उपलब्ध गराई विकास निर्माणको कार्यलाई तोकिएकै समयमा गुणस्तरिय रुपमा सम्पन्न गर्न विभिन्न योजनाहरु तयार गरिएको छ ।
बागलुङ नगर क्षेत्रमा शिक्षाको विकासका लागि ठोस योजनाका साथ समर्पित टिमको आवश्यकता देखिएको छ । यसको लागि नगर शिक्षा समितिमा आवश्यक छलफल गरिएको छ । बागलुङ नगर क्षेत्रका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास, प्रबद्र्धन तथा व्यापक प्रचार प्रसारका लागी उप–प्रमुख पर्यटन विकास कार्यक्रमको कार्यविधी कार्यपालिकाबाट पारित गरी कार्यान्वयनमा ल्याइएको छ ।
लक्ष्यित वर्ग तथा परम्परागत शिप र रोजगारीका लागि केही कार्यक्रमहरु संचालनमा ल्याइएको छ भने थप कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेका छन ।
नेपालको संविधानको धारा २१७ तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ८ मा रहेको न्यायिक समितिको काम कारवाही तथा न्याय सम्पादनको प्रक्रियालाई सरल र सहज हुने गरी जहां समस्या, तेही समाधान गर्ने नीति अनुरुपमा स्थानीय स्तर वा सम्बन्धित वडा कार्यालयमा छलफल गर्ने परिपाटी स्थापित गरिएको छ ।
सकेसम्म दुवै पक्षले जित्ने मेलमिलापको सम्बन्धका लागि उच्चतम विधि अपनाएर काम गरिएको छ ।नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन तथा संयुक्त राष्ट«संघले पारित गरी नेपालले हस्ताक्षर गरेको अपाङ्गता सम्बन्धी महासंन्धीको उद्धेश्य र भावना बमोजिम परिचय पत्र वितरणको कार्यलाई मासिक रुपमा वितरण र नविकरण गरिदै आइएकोमा अबदेखि आवेदन प्राप्त भएको १ हप्तामा नै वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
सम्भव भएसम्म घर घरमा नै पुगेर अपाङ्ग परिचय पत्र वितरणको काम गरिने छ । नेपालकोे संविधान, २०७२ को अनुसूची–८ बमोजिम उपभोक्ता हित संरक्षणार्थ बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकिएको हुँदा सो संबैधानिक दायित्व कार्यान्वयनको लागि पालिकाबाट नियमित रुपमा प्रभावकारी बजार अनुगमनको व्यवस्था मिलाइएको छ ।
लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानूनी व्यवस्थाको अध्ययन, अनुसन्धान गरी सुधारका महिलालाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्न तथा राज्यका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्न मौजुदा नीति तथा कार्यक्रमको समीक्षा गरी प्रभावकारी कार्यान्वयनको लागि सरोकारवालाहरुसँग अन्तक्रिया तथा छलफल गरी काम गर्ने प्रयास गरिएको छ ।
यसै गरी हिंसा पीडित महिलाहरुको सेवा केन्द्रलाई बानपासँगको सहकार्यमा प्रभावकारी रुपमा संचालन गरिने छ ।
साथै विभिन्न कारणले विद्यालय जान नसकेका बालबालिकाहरुलाई होस्टेलमा राखि विद्यालय पठाउने प्रयास गरिन लागिएको छ । सो कार्यका लागि खुशी महिला, बालबालिका अध्ययन तथा संरक्षण कार्यविधि तयार गरी काम गर्न लागिएको जानकारी गराउंछु ।
बागलुङ नगरपालिकाद्धारा स्वीकृत योजना तथा कार्यक्रमहरु अनुगमन तथा मूल्याङकनको कार्यलाई प्रभावकारी बनाउन विशेष सक्रियता देखाइएको छ ।
उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई जिम्मेवार बनाउदै योजनाको गुणस्तरीयता, दिगो विकास र पछिल्लो दिनहरुमा हुनु पर्ने मर्मत सम्भार समेतलाई ध्यान दिन सुुझाव दिइएको छ ।
योजनाहरुको समयमै सम्झैता गर्न, तोकिएको समयमा फरफारक गर्न, प्राविधिकहरुको निरन्तर रोहबरमा काम गर्न, उपभोक्ता समितिले सम्झौता गरेको काममा ठेक्का नदिन, योजना वोर्ड राख्न, सिमेन्ट प्रयोग भएको कार्यमा नियमित पानी राख्न धेरै पटक सुझाव दिनु परेको छ ।
यसै गरी उपभोक्ता समितिमा महिला सहभागिता र नेतृत्वलाई प्राथमिकता दिइएको छ । उत्कृष्ठ योजना सम्पन्न गर्ने महिला र पुरुष नेतृत्वको उपभोक्ता समितिलाई विशेष सम्मान र पुरस्कारको व्यवस्था मिलाइएको छ ।
यो वर्ष बानपा ४ र ११ का २ उपभोक्ता समितिलाई पुरस्कृत गरिदै छ ।हामीले खोजेको विकास प्रयासमा कहीं न कहीं संरचनागत त्रुटि हुने गरेको महसुस भएको छ ।
विकासको मुख्य उद्देश्य स्थानीयस्तरमा मानिसहरूको आयस्रोत बढाउने, उनीहरूको दैनिकी बदल्ने तथा जीवनस्तर गुणस्तरीय बनाउने हो र हुनुपर्छ ।तर हामी स्पष्ट रूपमा बरालिएको विकासको फन्दामा परेका छौं ।
हाम्रो जति पनि विकास निर्माणका कामहरू छन् ती अधिकांश अनन्तकालसम्म लम्बिइरहने र त्यसले व्ययभार थपिरहने अवस्था विद्यमान छ ।यस्तो अवस्थामा पनि यहाँ कसैलाई ग्लानि पनि छैन र जवाफदेही पनि देखिदैन । यस तर्फ हामी गम्भिर बन्न जरुरी छ ।
पटकको व्यवस्थामा आएको बदलावले पुनः नयाँ संस्करणमा पुरानै अवस्थाको निरन्तरता मात्र पाएको छ । आखिर किन किन हाम्रो यत्रा प्रयत्नहरू खेर गए किन हामीले चाहेको विकास र समृद्धि हासिल गर्न सकेनौं स्वच्छ र जिम्मेवार पुर्ण शैलीको सार्वजनिक बहस हुन जरुरी छ ।
चुनाव लक्षित नीति कार्यक्रम र बजेटले जनताको दैनिकीलाई सहज बनाउनेभन्दा आर्थिक असन्तुलन र असमानताको खाडल झन् गहिरो बनाई दुरुह दैनिकी जिउन विवश पार्ने देखिन्छ । जनतालाई रोजगारी सिर्जना गर्ने र आम गरिखाने जनतालाई सहज किसिमले उत्पादनशील क्षेत्रको इलम उद्यम र व्यापार व्यवसायमा संलग्न हुन आकर्षित गर्नु परेको छ ।
अब स्थानीय आवश्यकतामा आधारित आर्थिक गतिविधिलाई प्रोत्साहित गर्दै विकासको प्रक्रियामा आम जनसहभागितामा जोड दिनुपर्छ । विगतमा जस्तै फगत प्राविधिक रूपले गरिने आर्थिक विकासको कुराले अब निकास दिन सक्दैन ।
महँगी र अभाव बढ्दैछ, आम्दानी र सकाल घट्दैछ । जनताको दैनिकी दिनप्रतिदिन दुरुह बन्दैछ । बढ्दो महँगीको रापमा सेकिएका जनता बोल्नै नसक्ने अवस्थामा पुगेका छन् । किसान, मजदुर अनि केही इलमउद्यम गरिखाने वर्गको समस्या सुनिदिने र समाधान गरिदिने निकाय स्थानीय सरकारलाई बनाउनु परेको छ ।सरकार देखिने र सुनिने हुनुपर्ने पर्छ ।
जनताले आशा गरुन् या नगरुन् सरकार हुनुको प्राथमिक कर्तव्य निर्वाह गर्नै पर्छ। नगरबासीहरुको न्यनतम आधारभूत जिम्मेवारी पूरा गर्न तर्फ निरन्तर लाग्ने छु ।