प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्दै

२०८० जेष्ठ १८ गते प्रकाशित

नयाँ दिल्ली– भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन। प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन।

प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीमा भव्य स्वागत

भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री दाहाल बुधबार पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी थिए ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । सो क्रममा प्रधानमन्त्री दाहाललाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

प्रधानमन्त्री दाहालको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उनको तस्बिर अङ्कित स्वागतद्वार, ब्यानर र होर्डिङबोर्ड राखिएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल होटल मौर्यमा बसेको छ । उनी बसेको होटलमा पुगी बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका छन । सो अवसरमा भारतीय विदेशसचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए ।