मुख्य तीन बालीको मलखाद सिफारीसम्वन्धि प्रविधि विमोचन, उत्पादन बढ्ने अपेक्षा

२०८० जेष्ठ ३० गते प्रकाशित

काठमाडौं । मुख्य तीन बालीहरु धान, गहुँ र मकैका लागि स्थान विशेषका आधारमा मलखाद प्रविधि सिफारीस गरिएको छ ।

खासगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद(नार्क)अन्र्तगतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सोमबार एक कार्यक्रमका बीच धान, गहुँ र मकैबालीको स्थान विशेषका आधारमा मलखाद प्रविधिको विमोचन गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रविधि विमोचन तथा पत्रकार सम्मेलनमा नार्कका वैज्ञानिक बुद्धिराम चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।

उनले धान, गहुँ र मकैबालीको लागि स्थान विशेष मलखाद प्रविधिले कृषियोग्य जमिनको उर्वराशक्ति बढ्ने, उत्पादकत्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सन् १९७६ मा नेपालमा पहिलो पटक कृषि विभागअन्र्तगतको माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाद्धारा विभिन्न बालीको लागि मलखादको मात्रा सिफारीस गरिएको थियो । उक्त सिफारीसमा माटोको जैविक तथा भौतिक अवस्था र कृषि व्यवस्थापन(बालीका प्रजातिहरु)को अवधारणामा आधारीत नभएर सम्पूर्ण देशलाई एक रुपता मानी सिफारीस गरिएका मलखादका मात्राहरु हालसम्म किसानले प्रयोग गरिरहेका छन् ।

उक्त सिफारीस हरेक बालीको लागि सिफारीसको गरिएको मलखादको मात्रा तराइ, पहाड र हिमाली भेगका लागि समान थियो । वर्तमान अवस्थामा सघन बाली प्रणाली, उच्च पोषकतत्व चाहिने उन्नत प्रजातीहरु र अन्य कारणले माटोको उर्वराशक्ति छिटो परिवर्तन हुने भएकाले माटोबाट पूर्ति हुने पोषकतत्व, बालीको उत्पादन लक्ष्य र बाली काट्ने समयमा बालीले लिएको पोषकतत्वको मात्रालाई ध्यानमा राखी मलखाद सिफारीस अद्यावधिक गर्नुपरेकोे चौधरीले बताए ।

सो अवसरमा कृषि तथा पशुन्छी विकास मन्त्री बेदुराम भुसालले मकैंको बोटमा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री भुसालले मुख्य बालीहरुको लागि स्थान विशेषका आधारमा मलखादको प्रयोग गर्ने प्रविधिले कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा उल्लेखनीय भूमिका खेल्ने बताए ।

उनले किसानलाई दिने अनुदानित रासायनिक मल गैरकिसान वा गैरकृषि क्षेत्रमा पनि प्रयोग गर्ने ट्रेन्ड बढेकाले किसानले समयमै मल पाउन नसकेको उनको भनाई थियो । गैर किसानमा रासायनिक मल जाँदा अभाव बढेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए ।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव(कृषितर्फ) डा. गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मल अभाव नहुने बताए । आगामी वर्षको बजेटबाट स्रोत सुनिश्चितता गरि मल खरिद प्रक्रिया अघि बढाएको र कृषि सामग्री कम्पनीको टेन्डरबाट पनि मल खरिद भइरहेकाले मल अभाव नहुने बताए ।

मल वितरणको मापदण्ड बनाइएकाले स्थानीय तहमार्फत सम्वन्धीत एग्रो फर्म वा सहकारीमार्फत तोकिएको मूल्य र परिमाणमा किसानले मल पाउने डा. शर्माले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुतर्फ) सचिव डा. दिपककुमार खरालले मूख्य बालीको स्थान विशेषका आधारमा मलखाद प्रयोगसम्वन्धी प्रविधिले माटो र उर्वराशक्तिमा पनि वृद्धि गर्न सहयोग पुर्याउने बताए ।