काठमाडौं । यस वर्षको वर्षे सिजनको धानबाली लगाउने चटारोमा देशभरका किसान व्यस्त छन् । खासगरी, तराइका किसानले बैशाख लागेसँगै मलको खोजी गर्छन् । धानको ब्याड राख्ने बेलासम्म रासायनिक मल पाइएला भनेर बसेका किसानहरुले अहिलेसम्म पनि मल पाउन सकेका छैनन् ।
अब, असार लागेसँगै तराईसँगै पहाड र हिमाली क्षेत्रमा पनि धान रोपाइँ सुरु हुन्छ । त्यसबेला मलको अभाव अझै चुलिने देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षको धानबाली सिजनमा मलको अभाव नहुने बताए पनि किसानले मल पाउने अवस्था देखिदैन् ।
बर्खे धानबालीका लागि सरकारसँग मौज्दात मल निकै न्यून छ । फास्ट ट्रयाक र टेन्डरको मल असारभित्र पनि आउने सम्भावना पनि निकै कम भएर गएको देखिन्छ ।
मन्त्रालय स्रोतका अनुसार, बर्खे धानबाली सिजनका लागि करिब १८० हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर, सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीको गोदाममा निकै कम मल मौज्दात छ ।
कम्पनीका अनुसार, हाल ३७ हजार ३५१ मेट्रिक टन युरिया, १० हजार ६३९ मेट्रिक टन डीएपी र ११८ मेट्रिक टन पोटास गरी ४८ हजार १०९ मेट्रिक टन मल मौज्दात छ । यता, साल्टसँग कुल २४ हजार ९५६ मेट्रिक टन मल मात्र मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्टसँग गरी कुल ७३ हजार मेट्रिक टन मात्र अहिले मौज्दात छ ।
बाँकी मल तत्काल आउने सम्भावना नहुँदा आउँदो असार १५ सम्ममा पनि देशभरका किसानले मल पाउने सम्भावना देखिँदैन् । धान लगाउन युरिया जत्तिकै आवश्यक पर्छ, डीएपी मल ।
तर, हाल डीएपी मलको मौज्दात भने ज्यादै न्यून छ । कृषि सामग्रीसँग १० हजार ६३९ मेट्रिक टन र साल्टसँग २८५२ मेट्रिक टन गरी कुल १३ हजार ४९१ मेट्रिक टन डीएपीमात्र मौज्दात छ । तर, धानबाली लगाउन यो सिजनमा करिब ७० देखि ८० हजार मेट्रिक टन डीएपी आवश्यक पर्ने मन्त्रालय स्रोतकै दाबी छ ।
कृषि सामग्रीले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल कहिले आउने टुंगो छैन् । भारतको बिखाखापट्नम बन्दरगाहबाट मल नेपाल चलान हुँदै गरेको भनेर कृषि सामग्रीले भने पनि त्यो मल असारभित्र आउनेमा शंका छ ।
यता, फास्ट ट्रयाकमार्फत २७ हजार मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएको साल्टले पनि उक्त मल कहिलेसम्म नेपाल ल्याइसक्छ भन्न सकिने अवस्था छैनन् । किनकी, साल्टले पाएको उक्त मल खरिद प्रक्रिया मिचेको, प्रतिवन्धित मुलुक इरानबाट मल ल्याएको, चलखेलको आशंका गरिएकोजस्ता विवादित कुराहरु उठिरहेका छन् ।
यी सबै विवादका बाबजुद साल्टले धानबालीको सिजनसम्म सबै मल नेपाल भित्र्याउन सक्ने अवस्था छैन् । यता, साल्टले ल्याउने २० हजार मेट्रिक टन डीएपी मल कहिले ल्याउने हो अत्तोपत्तो छैन् । उक्त मल चीनको लोर्ड पोर्टमा लोडिङ भएको जानकारी गराइए पनि उक्त मल कहिले आइसक्छ भन्न सकिँदैन् ।