काठमाडौं । पछिल्लो समय प्रतिष्ठित ठूला व्यवसायिक घरानाहरुले कृषिमा लगानी गर्न थालेका छन् । केही समयअघि बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानबाट आरजु राइस मिल सञ्चालनमा ल्याइसकेका छन् ।
आरजु राइस मिलले स्वदेशी धानबाटै प्रशोधन गरिएको मसिनो र लंग्रेन चामल बजारमा ल्याइसकेको छ । झन्डै ५० करोडको लगानीमा उक्त राइस मिल सञ्चालनमा ल्याएका हुन् ।
नेपाल कृषि कम्पनीमार्फत विगत १५ वर्षदेखि कृषिकर्ममा जोडिएर काम गरेको बस्नेतले बताए । त्यस्तै, पवन गोल्यान अध्यक्ष रहेको गोल्यान एग्रो ग्रुप पनि पहिल्यैदेखि कृषि र उद्योगमा लगानी गरिरहेको छन् ।
गोल्यान ग्रुपले उपभोक्तालाई अग्र्यानिक कृषि उपज उपलव्ध गराउन माटो ब्रान्डका स्टोरहरु उपत्यकाभर सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, बतास समुहले पनि कास्कीको पोखरामा फार्म खोलेर कृषि उत्पादन गर्ने योजना बनाइरहेको छ । पछिल्लो समय ठूला व्यापारी तथा व्यवसायिक घरानाहरुको पनि कृषिक्षेत्रमा आकर्षण बढ्दै गएको छ ।
गोल्छा ग्रुप, खेतान समुहजस्ता ठूला व्यापारीक घरानाहरुले पनि कृषिक्षेत्रमा लगानीको बाटो हेरिरहेका छन् । यसैबीच, केही दिन अघि विनोद चौधरीको सीजी ग्रुपअन्र्तगत सीजी एग्रो पाल्पामा व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती सुरु गरेको छ ।
त्यसक्षेत्रको करिब ५०० रोपनी क्षेत्रमा अकबरे जातको खुर्सानीको खेती सुरु गरिएको हो । यसअघि सीजी ग्रुपले २०७९ कात्तिकमा नानो युरिया मल बिक्रि समेत गरेको थियो ।