नेपाल आर्मीको अवकाशपछि केराखेतीमा टंकनाथ, सरकारी अनुदानले क्षेत्र विस्तारमा सहयोग

२०८० असार १ गते प्रकाशित

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका ४ का टंकनाथ योगी कुनै बेला नेपाल आर्मीका जागिरे थिए । १८ वर्ष लामो नेपाल आर्मीको सेवाबाट अवकाश लिएपछि उनमा अब के गर्ने भन्ने कुरा मनमा खेल्न थाल्यो ।

आर्मीको जागिरे जीवन टुंगिएपछि विदेश जाउँ कि आफ्नै देशमा बसेर व्यवसाय गरौं भन्ने दोधारमा थिए, टंकनाथ । स्वदेशमै केही गर्नुपर्छ भन्ने हुटहुटीमा उनमा पहिल्यै देखि थियो । फलस्वरुप, थोरै साहस बटुलेर आफ्नै गाउँको माटो सुहाउँदो खेती रोजे, केरा खेती ।

‘नेपाल आर्मीको जागिरबाट अवकाश लिएपछि के गर्ने ? विदेश जाने कि भनेर मनमा कुरा खेल्न थाल्यो । तर, मलाई यतिका समय आफ्नै देशका लागि काम गरेकाले यहीँ केही गरौं भन्ने थियो ।’ उनले भने, ‘थोरै साहस बटुलेर माटो सुहाउँदो केरा खेती सुरु गरेँ ।’

उनले वि.सं २०७४ सालमा १२ कठ्ठा क्षेत्रफलमा केरा खेती सुरु गरे । करिब डेढ लाख रुपैयाँ लगानीबाट सुरु गरेको केरा खेती निकै सप्रियो । फलस्वरुप, केराले पहिलो वर्ष नै लगानी उठाएको योगी बताउँछन । दोस्रो वर्ष उनले केरा खेतीबाट मात्र ८ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भए । तेस्रो र चौथो वर्ष ५ देखि ६ लाख रुपैयाँ आम्दानी भएको उनको भनाई छ ।

केराबाट राम्रो आम्दानी हुन थालेपछि उनले क्षेत्र विस्तार गर्दै लगे । १२ कठ्ठाबाट सुरु गरेको केरा खेतीलाई उनले अहिले क्षेत्र विस्तार गर्दै साढे ४ विघा अर्थात ९० कठ्ठामा केरा खेती गरिरहेका छन् । गुलरिया नगरपालिका वडा नम्वर ४ मा उनले व्यवसायिक रुपमा केरा खेती गरिरहेका छन् ।

उनले बनाना बर्दिया कम्पनी स्थापना गरेर केरा खेती गरिरहेका छन् । केरा खेतीप्रति थप आत्मबल बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएएमपी) ले उनलाई सघाइरहेको छ ।

केराका बिरुवा, पावर टेलर, सिँचाइका लागि मोटर, स्प्रे ट्यांकी, पाइप, टेका, डोरीलगायतमा उनले ५० प्रतिशत अनुदान पाएको बताए । उनले दुई आर्थिक वर्ष २०७८।०७९ र २०७९।०८० मा गरेर ३ लाख रुपैयाँ बराबरका मेसिन, उपकरण र बिरुवालगायतमा अनुदान पाएका छन् । दुई वर्षमा उनले करिब ४ हजार केराका बिरुवा अनुदानमा पाएको बताए ।

थप क्षेत्रमा पनि केराखेती गर्ने सोच रहेको उनको भनाई छ । उनले २४ कठ्ठा आफ्नै जग्गामा केरा खेती गरेका छन् भने बाँकी जग्गा लिँजमा लिएका छन् । हालसम्म केराखेतीमा २० लाख भन्दा बढी लगानी भइसकेको उनको भनाई छ । राज्यले किसानलाई संरक्षण गरेको खण्डमा आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन, टंकनाथ योगी ।

बजारीकरणमा चुनौती

त्यसक्षेत्र केरा खेतीका लागि उपयुक्त मानिन्छ । तर, उत्पादन भएको केराको बजारीकरणमा भने चुनौती रहेको योगी बताउँछन् । ‘जति उत्पादन हुन्छ । त्यो सबै बिक्रि हुँदैन् । त्यसमाथि व्यापारीले निकै कम मूल्यमा खरिद गर्न खोज्छन् ।’ उनले गुनासो गर्दै थपे, ‘मूख्यतया बजारीकरणमा भने समस्या छ । भारतीय केरा बजारमा भित्रिँदा स्वदेशी केराले मूल्य पाएको हुँदैन् ।’ भारतसँगको खुल्ला सीमाका कारण भारतीय केरा सस्तोमा भित्रिँदा समस्या हुने गरेको उनको भनाई छ ।